काठमाण्डौ । मन्त्रीमण्डल पुनर्गठनको क्रममा अर्थमन्त्री डा. युवराज खतिवडा बाहिरिने खबरले सुरुवातमा बढेको बजार उनी पदमा कायमै रहने खबरले पुनः घटी बन्द भएको छ । 

मन्त्रीमण्डल पुनर्गठनमा अर्थमन्त्री डा. खतिवडाले निरन्तरता पाउने या नपाउने भन्ने विषय आम सेयर लगानीकर्ताले चासोका साथ हेरिरहेका छन् ।

मन्त्रीमण्डलमा रहने र बाहिरिनेहरुको नाममा सहमति जुटाउन बसेको सत्तासीन नेकपाको सचिवालय बैठक यो समाचार तयार पार्दासम्म सकिएको छैन । 

बैठकमा क्याबिनेटमा प्रवेश गर्न लागेका र मन्त्री बन्ने पक्का भएका सुरेन्द्र पाण्डे निकटका सचिवालयका नेताले अर्थमन्त्रालय उनलाई नै दिनुपर्ने र अबको बजेट समेत पाण्डेले बनाउने गरी मन्त्री बनाउनुपर्ने अडान लिएका छन् । बैठकमा केही सचिवालयका नेताहरुले आफू निकटका मन्त्रीहरुलाई नहटाउने विषयमा लिएको अडानले समेत बैठक लम्बिएको एक नेताले जानकारी दिए । 

सचिवालय बैठकमा पार्टीका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली अर्थमन्त्री डा. युवराज खतिवडाप्रति केही नरमजस्तो देखिएका छन् । उनले डा. खतिवडालाई राष्ट्रियसभा सदस्यमा कायम रहिरहने समयसम्म निरन्तरता दिनुपर्ने आशय व्यक्त गरेका बैठकमा सहभागी एक नेताले म्यासेजबाट जानकारी गराएका छन् । 

बजारमा समेत डा. खतिवडा नै अर्थमन्त्रीको रुपमा निरन्तर रहने खबर केही ढिलो प्रवाह भएपछि यसले लगानीकर्ताको मनोविज्ञानमा प्रभाव पारेको देखिएको छ । यहीकारण खतिवडा हट्ने खबरले उत्साहित लगानीकर्ता निरन्तर हुने खबरले निरश बन्दा नेप्से परिसूचक १.६५ अंकले घटी बन्द भएको छ । 

यो दिन कारोबार रकम पनि अघिल्लो दिनको तुलनामा घटेको छ ।

यो दिन बैंकिङ समूहको उपसूचक ०.५७ अंक र व्यापार समूह ३३ अंकले बढे पनि बाँकी सबै समूहको उपसूचकमा रातो पोतिएको छ । 

होटल समूहमा ६.६२ अंकको गिरावट आएको यो दिन विकास बैंक समूहमा २.३८ अंक, जलविद्युत समूहमा २.८१ अंक, बित्त समूहमा ०.७७ अंक, निर्जीवन बिमा समूहमा २४.२५ अंक, उत्पादन तथा प्रशोधन समूहमा १६.५८ अंक, अन्य समूहमा २.७१ अंक, माइक्रोफाइनान्स समूहमा ३.४४ अंक, जीवन बिमा समूहमा ३०.३७ अंक, म्युचुअल फण्ड समूहमा ०.०५ अंकको गिरावट आएको छ । 

धेरै कारोबार गर्ने कम्पनी
यो दिन बजारमा १६५ कम्पनीका १० लाख ९७ हजार ९२० कित्ता सेयर ३० करोड ३७ लाख २४ हजार २०४ रुपैयाँमा किनबेच भएको छ । 

सबैभन्दा बढी एनएमबी बैंकले ३ करोड ५४ लाख बढीको कारोबार गरेको छ । नेपाल बैंकले २ करोड ६८ लाख बढीको कारोबार गरेको यो दिन नवील बैंकले २ करोड १८ लाख, प्राइम कमर्सियल बैंकले १ करोड २२ लाख, प्रभू बैंकले ९८ लाख, हिमालयन डिस्टीलरीले ८८ लाख, एनआइसी एशियाले ८४ लाख, शिवम सिमेन्टले ८३ लाख, नेपाल लाइफ इन्स्योरेन्सले ७६ लाख र सनराइज बैंकले ६४ लाख बढीको कारोबार गरे । 

धेरै कमाउने र गुमाउने कम्पनी
यो दिन पनि साल्ट ट्रेडिङ कर्पोरेसनको मूल्यमा पोजिटिभ सर्किट लागेकोछ । घोडाघोडी लघुवित्तको मूल्यमा समेत अघिल्ला दिनहरु झै पोजिटिभ सर्किट नै लागेको छ । 

जनउत्थान सामुदायिक लघुवित्तको सेयर मूल्य ८.०२ प्रतिशतले वृद्धि भएको छ ।

रिडी हाइड्रोपावरका लगानीकर्ताले धेरै गुमाए । यो कम्पनीको सेयर मूल्य ६.६६ प्रतिशतले घट्यो ।