काठमाण्डौ । निकै लामो रस्साकस्सी र केही मन्त्रीहरुको हेरफेरको विषयमा लामो समयसम्म चलेको गलफत्तीका बीच बुधबार राति प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रीमण्डल पुनर्गठन गरेका छन् । 

लामो समयसम्म पुष्पकमल दाहालसँग चलेको अर्थमन्त्री फेर्ने विषयको विवाद समाधान नगरी ओलीले मन्त्रालय पुनर्गठन गरेका हुन् । 

ओलीले प्रचण्डलाई फागुनसम्म अर्थमन्त्रीको रुपमा डा. युवराज खतिवडालाई निरन्तरता दिने र त्यसपछि उनको पद स्वतः जाने भएकोले त्यसपछिको अर्थमन्त्रीको रुपमा सुरेन्द्र पाण्डेलाई ल्याउने आश्वासन दिएका प्रचण्ड निकट स्रोतले जनाएको छ । सरकारमा सहभागी हुँदा अर्थमन्त्रालय बाहेकका अन्य मन्त्रालयमा नजाने सुरेन्द्र पाण्डेका अडान ओली समक्ष प्रचण्डले राखेका थिए । आफ्ना राजनीतिक सल्लाहकार विष्णु रिमालको सल्लाह मान्दै डा. खतिवडालाई नै अर्थमन्त्रीको रुपमा निरन्तरता दिएका ओलीले फागुनपछिको अर्थमन्त्रीको रुपमा सुरेन्द्र पाण्डेलाई ल्याउने वचन दिएका छन् । 

अर्थमन्त्रीको रुपमा डा. युवराज खतिवडालाई यथावत राखे पनि केही मन्त्रीहरुलाई विदा गरी केही नयाँ अनुहारलाई मन्त्रीको रुपमा भित्र्याउने काम भएको छ । बुधबार राति मन्त्री नियुक्त हुनेहरुको सपथ बिहीबार गराइने कार्यक्रम छ । 

नयाँ क्याबिनेटमा हृदयश त्रिपाठी, धनश्याम भुसाल, लेखराज भट्ट, रामेश्वर राय यादव, पार्वत गुरुङ र बसन्तकुमार नेम्वाङ मन्त्रीको रुपमा इन्ट्री भएका छन् । मोतिलाल दुगड, नवराज रावत र रामवीर मानन्धर राज्यमन्त्री बनेका छन् । 

ओलीले त्रिपाठीलाई संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री बनाएका छन् । लालबाबु पण्डितलाई भने विदा गरिएको छ । 

यस्तै, ओलीका कट्टर आलोचक भुसाललाई कृषि तथा पशुपंक्षी मन्त्री बनाइएको छ । चक्रपाणि खनाललाई विदा गरिएको छ ।

मातृका यादवलाई विदा गरी उनले सम्हालेको उद्योग तथा वाणिज्य मन्त्रालयको बागडोर लेखराज भट्टलाई दिइएको छ भने रामेश्वर राय यादव  श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री बनेका छन् । गोकर्ण बिष्ट हटाइएका छन् ।

यसैगरी, रघुवीर महासेठलाई विदा गरी बसन्तकुमार नेम्वाङलाई भौतिक पूर्वाधार तथा यातायात मन्त्री बनाइएको छ भने थममाया थापालाई विदा दिई पार्वत गुरुङलाई महिला बालबालिका मन्त्री नियुक्त गरिएको छ ।

उपप्रधान तथा स्वास्थ्य मन्त्रीको रुपमा रहेका उपेन्द्र यादवलाई उपप्रधान तथा कानूनमन्त्रीको जिम्मेवारी दिइएको छ भने स्वास्थ्य मन्त्रीको रुपमा भानुभक्त ढकाललाई सारिएको छ । 

मोतीलाल दुगड उद्योग, वाणिज्य तथा आपूर्ति राज्यमन्त्री, नवराज रावत स्वास्थ्य राज्यमन्त्री र रामवीर मानन्धर सहरी विकास राज्यमन्त्री बनेका छन् । 

पुनर्गठित क्याबिनेटमा ईश्वर पोखरेल, रामबहादुर थापा, प्रदीप ज्ञवाली, गिरिराजमणि पोखरेल, बर्षमान पुन, योगेश भट्टराई, शक्ति बस्नेत, गोकुल बास्कोटा, पद्माकुमारी अर्याल, बिना मगर साबिककै मन्त्रालयमा निरन्तरता पाएका छन् ।