काठमाण्डौ । बहुमूल्य पहेँलो धातु सुन जोड्ने सबैको चाहना हुन्छ । कतिले यो चाहना पूरा गर्न मेहनतको आम्दानी प्रयोग गर्दछन् भने कतिले अपराधको बाटो रोज्न पुुग्दछन् ।

नेपालमा बेलाबेला सुन चोरीका सानाठूला घटना सार्वजनिक हुने गर्दछन् । केही वर्षपहिले ३३ किलो सुन चोरी भएको रहस्यमयी घटना आमजनताले अझै बिर्सेका छैनन् ।

छिमेकी मुुलुक भारतमा पनि एउटा यस्तै सुन चोरीको घटना शनिबार सार्वजनिक भएको छ । घटना बिहार राज्यको हो । त्यहाँस्थित मुुथुुट फाइनान्स कम्पनीको शाखाबाट सातजनाको हतियारधारी समूहले करिब ५५ किलो ७०० ग्राम सुन लुटेको छ । लुटिएको सुनको मूल्य भारतीय बजारमा भारु २० करोड (नेरु ३२ करोड) बराबरको रहेको छ ।

लुटको प्रतिकार गर्दा हतियारधारी समूहले कम्पनीका कर्मचारीहरु र दुईजना सुरक्षागार्डलाई मरणासन्न हुने गरी कुुटपिट गरेका छन् ।

सुन लुट्ने क्रममा उक्त समूहले हतियारको सहाराले शाखा प्रमुुखलाई कब्जामा लिँदै त्यहाँ भएका सबैको मोबाइल नियन्त्रणमा लिएको थियो । अनि २० मिनेटभित्र सबै सुन लुट्दै चोरहरु फरार भए ।

अझ रोचक त के भने घटना भएको स्थानभन्दा २० मिनेटको दूरीमा प्रहरीचौकी छ । त्यस्तै त्यति ठूलो परिमाणमा सुनको सुरक्षा गर्न त्यहाँ जम्मा दुईजना गार्डमात्रै परिचालित थिए ।

गार्ड रविन्द्र कुमारका अनुसार मध्याह्न करिब १२.३० बजे एउटा ग्राहक फाइनान्सभित्र छिर्यो । जब गार्डले पहिचानका लागि कागजात माग्यो तब त्यो ग्राहकले गार्डको गर्दन समातेर आफ्ना अरू साथीहरु पनि डाक्यो र आधा दर्जन हतियारधारीको समूुह मिलेर कम्पनी प्रमुुखको हात बाँधे र सबैको मोबाइल नियन्त्रणमा लिए र शाखा प्रमुुखको कक्षमा गएर ५० किलो ७०० ग्राम सुन सजिलै लुटेर फरार भए ।

कम्पनीकै एक कर्मचारीले प्रहरीलाई फोन गरेर चोरीको घटना बताएका थिए । फोनपछि घटनास्थल पुुगेको प्रहरीले शाखा प्रमुुखसहित सबै कर्मचारीलाई नियन्त्रणमा लिएर सोधपुछ गरेको थियो ।

सम्पूर्ण घटना सीसीटीभी क्यामेरामा कैद भएकोले आफूहरुले चाँडै लुटेराहरुलाई कानुुनको कठघरामा उभ्याउने प्रहरीको दाबी छ । अहिले चौतर्फी रुपमा उनीहरुको खोजी र छापा मार्ने काम भइरहेको बिहार प्रहरीले जनाएको छ । – एजेन्सी