काठमाण्डौ । पूर्वी जर्मनीस्थित एउटा विश्वप्रसिद्ध सङ्ग्रहालयबाट बहुमूल्य गहनाहरू चोरी भएका छन्। ड्रेस्डेन ग्रीन भल्टमा गहना चोरी भएपछि प्रहरीले अनुसन्धान र खोजी कार्य तीव्र पारेको छ।

बीबीसीका अनुसार सोमवार बिहानै चोरहरू उक्त सङ्ग्रहालयको झ्याल फुटाएर भित्र पसी अठारौँ शताब्दीमा निर्मित तीनवटा हीरा, नीलमणि र अन्य पत्थरजडित गहना चोरेका थिए। त्यो सङ्ग्रहालयका निर्देशकले ती गहनाको मूल्य तोक्नै नसकिने बताउँदै तिनको ठूलो सांस्कृतिक मूल्य भएको बताएका छन्।

ती गहनालाई टुक्र्याएर बेचिन सक्ने अधिकारीहरू चिन्ता छ। प्रहरीले एक सन्दिग्ध व्यक्ति सुरक्षा क्यामराले खिचेको भिडिओमा देखिएको बताएको छ। तर अझै पनि कोही पक्राउ परेका छैनन्।

बीबीसीका अनुसार ड्रेस्डेन ग्रीन भल्ट उक्त सुरक्षित स्थानबाट चोरी भएका प्रत्येक गहनामा ३७ वटा भाग छन्। एकाबिहानै चोरहरू त्यहाँ कसरी पुगे भन्ने विषयमा अधिकारीहरूले अनुसन्धान गरिरहेका छन्।

ड्रेस्डेन कला सङ्ग्रहालयका प्रमुख म्यारिअन एकेर्मनले भनिन्, "दशमध्ये हीराका गहनाका तीन थान हराएका छन्।"

ग्रीन भल्टबाट चोरी भएका गहनामा केही माणिक, पन्ना र नीलमणी पनि रहेको बताइएको छ। एकेर्मनले चोरी भएका गहनाको मूल्य तोक्न नसकिने बताइन्। तर जर्मन पत्रिका बिल्डको अनुमानमा तिनको मूल्य करिब एक अर्ब युरो (अर्थात् १२६ अर्ब रुपैयाँ) जति हुन सक्छ।

बहुमूल्य गहना चोर्न सङ्ग्रहालयभित्र पसेका चोरहरू अझै फरार छन्। चोरी सङ्ग्रहालयको पहिलो तल्लामा भएको थियो। उनीहरूले त्यहाँको झ्यालको फलामको ग्रिलको सानो भागलाई निकालेर सिसा फुटाउँदै भित्र पसेको बताइएको छ।

घटना स्थानीय समयानुसार सोमवार बिहान ५ बजेतिर भएको हो। ठिक त्यति नै बेला नजिकैको बिजुलीको जङ्क्शन बक्समा लागेको आगो निभाउन दमकल बोलाइएको थियो।

त्यो आगलागीका कारण सङ्ग्रहालयको आपत्कालीन सूचना दिने अलार्मले काम नगरेको हुन सक्ने ठानिएको छ।