काठमाण्डौ । माछापुच्छ्रे बैंक लिमिटेडको सम्पूर्ण एटीएम तथा प्वाइन्ट अफ सेल्स (पीओएस मेसिन) हरुमा अब मास्टर कार्ड स्वीकार गर्न माछापुच्छ्रे बैंक मास्टर कार्डको सञ्जालसँग आबद्ध भएको छ ।

विशेषगरी नेपाल भ्रमणमा आउने विदेशी पर्यटकहरु तथा मास्टर कार्ड लिएका नेपाली ग्राहकको सुविधालाई मध्यनजर गर्दै माछापुच्छ्रे बैंक मास्टर कार्डसँग आबद्ध भएको हो । अब ग्राहकले माछापुच्छ्रे बैंकको १७० भन्दा बढी एटीएममार्फत नगद निकाल्न तथा १ हजारभन्दा बढी पीओएस मेसिनमार्फत सामान खरिदको रकम भुक्तानी गर्न सक्नेछन् ।

बैंकले छिटै नै आफ्ना ग्राहकलाई मास्टरकार्ड जारी गर्नेसमेत जनाएको छ । मास्टर कार्डसँगै बैंकका सम्पूर्ण एटीएम र पीओएस मेसिन मा भिसा, यूनियन पे, मास्टरकार्ड र मेस्ट्रो कार्डहरु सजिलै प्रयोग गर्न सकिनेछन् ।

स्थापनाकालदेखि नै नयाँनयाँ प्रविधिमा आधारित सेवा सुविधा ग्राहकमाझ ल्याउन कटिबद्ध रहेको माछापुच्छ्रे बैंकले मोबाइल बैंकिङ सेवा, इन्टरनेट बैंकिङ सेवा, अनलाइनमार्फत खाता एवं मुद्दति खाता खोल्ने, क्यूआर कोडलगायतका थुप्रै अत्याधुनिक प्रविधिहरु आफ्ना ग्राहकमाझ ल्याइसकेको छ।

माछापुच्छ्रे बैंक पूर्वदेखि पश्चिम साथै हिमालदेखि पहाड र तराईसम्म आफ्ना १४४ वटा शाखा, १३७ शाखारहित बैंकिङ सेवासमेत गरी जम्मा २८१ स्थानमा रहेका सेवा सञ्जाल तथा १७० वटा एटीएममार्फत ग्राहकलाई अत्याधुनिक प्रविधिसहित सम्पूर्ण बंैकिङ सुविधाप्रदान गरिरहेको छ ।