काठमाण्डौ । संघीय राजधानीमा बस्दा समेत बैंकलाई ब्रोकर लाइसेन्सका लागि दवाब दिन नसक्ने र सो विषयमा बोल्न समेत आनाकानी गर्ने लगानीकर्ताका नेताहरु मोफसलमा हुने कार्यक्रममा भने त्यही मुद्धालाई प्रमुखताका साथ उठाएर गर्जन थालेका छन् । 

बैंकलाई ब्रोकर लाइसेन्स दिने विषय नेपाल स्टक एक्सचेञ्जका सीइओ चन्द्रसिंह साउदको योजनामा लगभग तुहिइसकेको अवस्थामा लगानीकर्ताका नेताहरु भने मोफसलमा गएर बैंकलाई ब्रोकर लाइसेन्स नहुँदा बजारमा सुधार हुन नसकेको दाबी गर्न थालेका हुन् । 

बुटवलमा आइतबार यस्तै भयो । बजार विकास र यहाँका समस्याहरुको एकमुष्ट समाधानको माग गर्दै आमरण अनसनसम्म बसेर लगानीकर्ताको सहानुभूति बटुलेका सेयर लगानीकर्ता दवाब समूहका अध्यक्ष हरि ढकालले बैंकहरुलाई ब्रोकर लाइसेन्स अविलम्ब प्रदान गर्न माग गरे । पछिल्लो समय काठमाण्डौमै हुँदा उनले यो विषयमा त्यति धेरै जोड गरेको पाइन्न । सानो भन्दा सानो विषयमा नेप्से घेराउसम्म गर्न पछि नपरेको दवाब समूहले बैंकलाई ब्रोकर लाइसेन्सको मुद्धामा भने देखिने गरी दवाब नदिएको लगानीकर्ता बताउँछन् । 

बुटवलमा भएको कार्यक्रममा उनले लामो समय शेयरबजारमा लगानी गरेका लगानीकर्ताले पूँजी बजारका लागि ब्याजदर मुद्दा नभएको दाबी समेत गर्न भ्याए । 

आइतबार बुटवलमा  सफल नेपाल इन्भेष्टमेण्ट कम्पनीले आयोजना गरेको छलफलमा उनीहरुले बैंकलाई  ब्रोकर लाइसेन्स अविलम्ब प्रदान गर्न गर्न समेत आग्रह गरे । 
 
लगानीकर्ताले भनेका छन्, “बैंकलाई ब्रोकर लाइसेन्स नदिने हो भने ब्रोकर कार्यालय विस्तार तीव्र हुनुपर्छ ।”  

शेयर लगानीकर्ता दबाब समूहका हरि ढकालले शेयरबजार बचतका लागि एउटा साधन भएको उल्लेख गर्दै ब्रोकर लाइसेन्सको मुद्दालाई बैंकले पनि वास्ता नगरेको बताए ।

उनले पुसको १५ गतेसम्म शेयरबजार १००० अङ्कभन्दा तल गए लगानी बढाउन लगानीकर्तालाई आग्रह गर्दै बजार नघटे १०० अङ्क बढ्ने जिकिर गरे ।  “हामीले त्यतिबेला लगानी गर्दा कम्तीमा दुई वर्षमा प्रतिफल पाउन सकिन्छ”, उनले थपे ।
 
राससका अनुसार लगानीकर्तामा आत्मविश्वासको कमीले पनि बजार बढ्न नसकेको भन्दै ढकालले अर्थमन्त्री डा.युवराज खतिवडा शेयरबजारको बाधक भएको आरोप लगाए । 

सफल नेपाल इन्भेष्टमेण्ट कम्पनीका अध्यक्ष कमल तिवारीले शेयरबजार अनलाइन प्रणालीमा गए पनि प्रभावकारी हुन नसकेको उल्लेख गरे । सफल नेपाल इन्भेष्टमेण्ट कम्पनीका महासचिव माधव पाण्डेयले बजारले दिशा नलिँदा लगानीकर्ता अप्ठ्यारो अवस्थामा रहेको बताए ।