काठमाण्डौ । आज साताको कारोबारको पहिलो दिन आइतबार नेप्से इण्डेक्समा अत्यन्तै झिनो ०.०७ अंकको मात्र बढोत्तरी भयो । हप्ताको सुरुवाती दिन आइतबार बजार घट्ने परिपाटी आज भने झिनै अंकले पनि सकारात्मक दिशा तय गर्दै गर्दा कारोबार रकम भने २० करोडमा सीमित बन्न गयो । 

धितोपत्रको दोस्रो बजार आइतबार कारोबार समय ११ बजेदेखि ३ बजेसम्म अवधिभर हामी सेयर बजारको हब मानिएको पुतलीसडक वरिपरि रहेका ब्रोकर हाउस पुगेका थियौं ।

बिजशालाको नियमित स्तम्भ ग्राउण्ड जीरोका लागि हामी आज सुरुमा ब्रोकर नम्बर २५ अर्थात् स्वेता सेक्युरिटीजमा ११ बजे नै पुगेका थियौं । त्यहाँ कार्यालयमा चहलपहल भए पनि लगानीकर्ताहरुको उपस्थिति शून्य थियो । करिब १५ मिनेटपछि लगानीकर्ताको सुस्तरी चहलपहल बढ्न थाल्यो । लगानीकर्ताहरु आपसमा बूक क्लोज भएपछि सबै सेयरको मूल्य घटिरहेकोमा चिन्ता व्यक्त गर्दै थिए । 

हुन पनि घट्दो बजारमा हाल बूक क्लोजपछि अधिकांश कम्पनीका सेयरमूल्यमा गिरावट नै आइरहेको यथार्थ हामी सबैलाई ज्ञात भएकै कुरा हो । त्यही भेला भएका एक पाका उमेरका लगानीकर्ताले हिमालयन डिष्टिलरीको सेयरमूल्य समायोजन भएर ११ सयमा आइपुग्न लाग्दा अब भने १ हजार नै आउने होला भन्दै लख काटे । लगत्तै अर्का लगानीकर्ताले रक्सीको भाउ महराले गर्दा बढेको हो नि’ भन्दै ठट्टा गरे।

यसपछि हामी  ब्रोकर नम्बर ४८ त्रिशक्ति सेक्युरिटीज उक्लियौं । ५–६ जना मात्र उपस्थित त्यहाँ प्रायः चकमन्न नै थियो । सबैजना मोबाइलमा नै व्यस्त नै थिए । 

अर्कातर्फ राजनीतिक कुराकानी र उपनिर्वाचनका विषयमा गफिरहेका पायौं । सेयर कारोबार सुस्ताएसँगै ब्रोकर हाउसमा लगानीकर्ताहरु पातलिनु पुरानै विषयको निरन्तरता हो । कुनै चहलपहल र कुराकानी गर्ने मूडमा नरहेका त्यहाँ उपस्थित लगानीकर्ताहरुबाट कुनै गस्सिप सुन्ने छाँटकाँट नदेखिएपछि हामी शंकरदेव क्याम्पस अगाडि रहेको ब्रोकर नम्बर ४९, अनलाइन सेक्युरिटीज पस्यौं । उल्लेख्य उपस्थिति भने त्यहाँ पनि लगानीकर्ताहरुको थिएन । हामीले त्यहाँ आएका एकजना युवा लगानीकर्ता साथीलाई सोध्यौं–‘के हो सुनसान छ नि ?’ ‘मार्केट घटेर होला’ भन्ने तत्काल उनले प्रत्युत्तर दिए । ‘चुनावको कारणले पनि हुनसक्छ कम उपस्थिति।’–ती लगानीकर्ताले दाबी गरे । 

त्यहीँ भेटिएका एक पाका उमेरका लगानीकर्ताले पोखरा फाइनान्स १४७ रुपैयाँ पुगेकोमा अहिले पुनः घटेर १४२ मा आइपुग्यो भन्दै चिन्ता गर्दै थिए । उनले भने–‘१५० रुपैयाँ पुगेपछि बेचौंला भनेको ।’ अर्का लगानीकर्ताले भने–‘घट्दो मार्केटमा त बढेको बेला बेचिहाल्ने पो हो त।’

यसपछि हामी ब्रोकर नम्बर १६ प्राइमो सेक्युरिटीजमा उक्लियौं । त्यहाँ पनि ५–६ जना लगानीकर्ता मात्र उपस्थित थिए । ब्रोकर हाउस चकमन्न नै थियो । भएका सबैजना लगानीकर्ताहरु पनि मोबाइलमै व्यस्त थिए । कोही फेसबूक चलाउँदै थिए त कोही नेप्सेको वेबसाइटमा आँखा डुलाइरहेका भेटिए । हामीसँगै पछाडि बसेका एक लगानीकर्ताले केही समय चिन्तित मुद्रामा भने–‘अब बजार अझैं २–३ वर्ष बढ्दैन जस्तै छ ।’

करिब २ बज्न लागेको थियो । हामी ब्रोकर नम्बर ३७ अर्थात् स्वर्णलक्ष्मी सेक्युरिटीज छिर्यौं । त्यहाँ भने केही भीड नै देखिन्थ्यो । हामी गएको केही समयपछि डिस्प्ले रुम अघिबाटै लगानीकर्ताले कारोबार कक्षमा मुक्तिनाथ विकास बैंकको सेयर १ हजार कित्ता खरिद अर्डर मौखिक रुपमै दिए । ‘सुनलाई पित्तल बनाउने भए।’एक लगानीकर्ताले सस्तोमा सेयर उठाएकोमा व्यङ्ग्य गर्दै भने । अनि अर्डर दिने लगानीकर्ताले पनि ‘अहिले सिल्भरलाई पित्तल बनाउने सही समय भएको’ जिकिर गरे । 

बेलाबेलामा त्यहाँ लगानीकर्ताहरु हाइ पनि काढ्दै थिए । ‘नेपाल बंगलादेशको सेयर पनि २ सयमुनि आयो बूक क्लोजपछि त समायोजन भएर आउँदा १७५ अनि कारोबार हुँदै गर्दा १३५ तिरै पो आउला जस्तो छ।’–एक लगानीकर्ताले सम्भावनालाई विश्लेषण गरे । त्यसपछि निकै बेर शान्त नै थियो । एकजना लगानीकर्ताले बोले–‘शान्त छ त, सुनसान छ  । मार्केट हरियो भए गफगाफ हुन्थ्यो ।’

यसलगत्तै हामी प्रदशर्नीमार्गस्थित ब्रोकर नम्बर ३६ सेक्यूर्ड सेक्युरिटीज प्रवेश गर्यौं । यहाँ भने लगानीकर्ताहरुको बाक्लै भीड थियो । निक्कै हल्लीखल्ली र हाँसो मजाक गरिरहेको देख्दा हामी एकक्षण त अचम्मित भयौं । ‘अब बूल सुरु हुन्छ,अनि गाइ सुरु हन्छ।’एक पाका लगानीकर्ताले ठट्यौली पारामा भने । 

‘एनएलआइसीको सेयरमूल्य बढाइरहेका छन्, आज मात्र ३६ रुपैयाँ बढ्यो ।’एक लगानीकर्ताले भने । पछाडिबाट एक लगानीकर्ताले ‘५० (५० प्रतिशत लाभांश) को हल्ला छ’ भन्दै दाबीसमेत गरे । अगाडि बसेका एक लगानीकर्ताले भने–‘बूलको संकेत हो कि यतिबेला विश्लेषकहरुले सुझाए अनुसार ब्लूचिप्स कम्पनी किन्ने समय पो आयो जस्तो लाग्यो । सस्तो भन्दा राम्रो र महङ्गो मूल्य सेयर किन्नुपर्ने विश्लेषकले भनेका थिए’ भन्दै तर्क पेसे । 
केही क्षणपछि एक लगानीकर्ताले विरही भाकामा ‘यहाँ (सेयर बजार) कुकुरले भन्दा बिरालोले धेरै पैसा कमाउँछ’ भन्दै जिकिर गरेको भेटियो । 

पौने तीन बज्यो । अचानक डिस्प्ले बन्द भयो । डिस्प्ले बन्द हुनका कारण बत्ती नभई अन्य नै थियो । अनि पुनः कम्प्युटरमा पासवर्ड राख्दै एक लगानीकर्ताले आक्रोशित मुद्रामा भने–‘जहिले यही बेला जान्छ । साउदकै हात छ ।’ 

अनि डिस्प्ले बल्लतल्ल खुल्यो र कारोबार भएका कम्पनीहरुको मूल्य देखिन थाले । केही समयपछि एक लगानीकर्ताले सिभिल बैंक र मुक्तिनाथ विकास बैंक मर्जर हुँदै गरेकाले आफूसँग रहेको सेयर राख्ने कि बेच्ने भन्दै फतफताए । अन्त्यमा ३ बज्नै लाग्दा ‘पूरै हरियो भयो’ भन्दै पछाडिबाट हौसिए । ३ लगभग बजेको थियो । ‘२० (कारोबार रकम रु.२० करोड) कट्यो ।’एक लगानीकर्ताले बोले । ‘४० कटेसी रमाउँला भन्नू न’ भन्दै त्यो कोठा नै हाँसोको फोहरा वर्षियो । 

उनीहरुको बहिगर्मनसँगै हामी पनि बिजशाला कार्यालय तीनकुनेतर्फ लम्कियौं ।

हिजोआज नेप्से इण्डेक्समा कुनै ठूला उत्तारचढाव आउन सकिरहेको छैन । लगानीकर्ताहरुमा बजार घट्ने भयले १–२ रुपैयाँमै बार्गेनिङ गरिरहेको पाइन्छ भने म्युचुअल फण्डले समेत दोस्रो बजारमा लगानीको दायरा बढाउने हिम्मत जुटाइरहेका छैनन् । विविध सुविधा पाएका म्युचुअल फण्डहरुको बजार मूल्य पनि अंकित मूल्य १० रुपैयाँबाट घटेर ६ रुपैयाँ आसपासमा दोस्रोबजारमा कारोबार भइरहेका छन् ।

बजारले जहिल्यै अवसर लिएर आउँदछ । धैर्यता नै सबैभन्दा ठूलो सूत्र रहेको सेयरमा सफलता पाएका लगानीकर्ताहरुको कथन छ । अब चालू आर्थिक वर्षको ६ महिना बित्न लाग्दा लाभांश घोषणा दिनहँु गरिरहेका बखत सूचिकृत कम्पनीहरुका पेश भई नियामक निकायबाट पारित भई वार्षिक साधारणमा पेश भएपछि  मूल्य समायोजनले समेत इण्डेक्स झर्न मद्धत गरिरहेकै हुन्छ र आगामी दिनमा लगानीकर्ताहरुले मनोबल दह्रो नबनाउँदा हालको इण्डेक्समा पनि केही गिरावट आउने पक्का नै छ । 

इण्डेक्समा आधारित हुनुभन्दा पनि कम्पनीहरुको इपीएस , पीइ रेसियो, ग्रोथ र उचित सेयरमूल्यलाई आधार बनाउँदै सेयरमा लगानी गर्नु बुद्धिमानी हो ।