काठमाण्डौ । कुनै हण्डर र ठक्कर नखाई मानिसले चेत्दैन । राजनीति गरी चुनाव जित्नेहरुमा जब अहम्ले घर गर्छ, त्यसबेला आफूलाई मत दिएर जिताउने मतदाताको पीरमर्कातर्फ नेताहरुको ध्यान खासै जाँदैन । जनताको मत पाएर सत्तामा पुगेका नेताहरुले जब तिनै मतदातालाई पीडा हुने गरी जथाभावी काम गर्न थाल्छन्, तिनीहरुलाई ठेगान पनि तिनै मतदाताले लगाउँछन् । देशमा हालै सम्पन्न उपनिर्वाचनमा यस्तै देखियो । 

प्रसंग हो, उपनिर्वाचनभरि निकै चर्चामा आएको प्रदेश नम्बर १ को सुनसरी जिल्लामा पर्ने धरान उपमहानगरपालिकाको । यो क्षेत्रमा कम्युनिष्टहरुले विगत लामो समयदेखि हरेक तहका निर्वाचनहरुमा शानदार जित निकाल्दै आएका थिए । 

धरानमा कांग्रेसले पहिलोपटक जितेको हो । २०४९, २०५४ र २०७४ सालको स्थानीय निर्वाचनमा पनि धरानमा एमालेले नै जितेको थियो । सुनसरी १ क्षेत्रमा पर्ने संसदीय निर्वाचनमा पनि धरानबाट कांग्रेसले जित्न सकेको थिएन । 

धरानेहरुले गत स्थानीय निकायको निर्वाचनमा पनि कम्युनिष्टलाई नै जिताए । एमालेका उम्मेद्वार तारा सुब्बा मेयरमा निर्वाचित भए । उपमेयर भइन् एमालेकै मञ्जु भण्डारी(सुवेदी) । तारा सुब्बा गम्भीर बिरामी परी बितेपछि धरान उपमहानगरपालिकाको मेयर पद रिक्त भएको थियो । उपनिर्वाचनमा मेयरका लागि नेकपा र कांग्रेसका उम्मेद्वारको टक्कर परेको थियो । 

यसपटकको निर्वाचनमा कांग्रेसका तिलक राईले २६ हजार ७०९ मत ल्याएर चुनाव जिते । नेकपाका उम्मेद्वार प्रकाश राईले २३ हजार ९१४ मत मात्र ल्याए । २०७४ सालमा तारा सुब्बाले २० हजार बढी मत ल्याएर धरानको मेयरमा जित हासिल गरेका थिए । त्यसबेला समेत कांग्रेसबाट मेयरमा लडेका तिलक राई सुब्बासँग ४ हजार बढी मतले पराजित भएका थिए । त्यसबेला माओवादीले मेयरमा ११ हजार बढी मत प्राप्त गरेको थियो । तर, अहिले भने एमाले र माओवादी मिलेर बनेको नेकपाका उम्मेद्वारलाई पछार्दै तिलक राईले चमात्कारिक जित हासिल गरे । 

धरानमा २ वर्षमै कम्युनिष्टहरुको लालकिल्ला कमजोर कसरी भयो ? अहिले बहसको विषय भएको छ । घात अन्तर्घातका कुराहरु पनि यदाकदा उठेका छन् । तर, नेकपाको स्थानीय कमिटीले भने एमालेबाट जितेर स्थानीय सरकारको सत्तामा पुगेकाहरुले थोपरेको जथाभावी करको भारका कारण बिच्किएका जनताले सबक सिकाएका निश्कर्ष निकालेको छ । नेकपा धरानको निर्वाचन परिचालन कमिटीको १७ मंसिरमा भएको बैठकले यस्तो निश्कर्ष निकालेको हो । 

बैठकपछि संयोजक रमेश बस्नेतले एक विज्ञप्ति जारी गरेका छन् । जसमा विभिन्न तहबाट लागू भएका करहरुको विषयमा जनताले व्यापक गुनासा गरेका उल्लेख छ । जनताले जथाभावी गर्ने नेता तथा दलहरुलाई गतिलो पाठ पढाइदिएपछि नेकपाको बुद्धि खुलेको विज्ञप्तिबाट प्रष्टिन्छ । उसले विज्ञप्तिमार्फत नै जनताको अभिमत तथा सुझावको उच्च सम्मान गर्दै धरान उपमहानगरपालिकाबाट आर्थिक वर्ष २०७६\७७ का लागि लागू गरिएका करका दरहरु पुनरावलोकन गरी तत्काल करका दरहरु घटाउने कार्य सुरु गर्न नेकपा धरान उपमहानगर संसदीय दललाई निर्देशन दिने निर्णय समेत गरेको छ । 

नेकपा धरानको यो निर्णय र निर्देशनलाई उसकै कार्यकर्ताहरुले मरेपछि हरियो काक्रोको संज्ञा दिएका छन् भने कांग्रेसले भने आफूबाट भड्किएका मतदाताहरुको आँखामा छारो हाली भविष्यमा कांग्रेसबाट निर्वाचित मेयरले गर्नसक्ने कामको श्रेय लिन हतार हतार च्याखेदाउ थापिएको प्रतिक्रिया दिएको छ । 

जे होस्, ढिलै भए पनि धरानका नेताहरुले असन्तुष्टिको चुरो पत्ता लगाएका छन् । धरानमा मात्र नभई नेकपाले जितेपछि करको भारि बोक्न बाध्य जनताले ढिलोचाँडो सबक सिकाउनेवाला छन् । विश्लेषकहरु भन्छन्–‘उपनिर्वाचनबाट नेकपाले पाठ सिकेर जथाभावी तोकिएका करहरुमा पुनरविचार गरेन भने धरानमा मात्र होइन, आगामी निर्वाचनहरुमा अन्य क्षेत्रमा समेत उसलाई धक्का लाग्नसक्छ ।’