काठमाण्डौ । अर्थमन्त्री डा युवराज खतिवडाले एकाघरको लगानी रहेका बैंक तथा वित्तीय संस्थाहरु मर्जरमा नगए सरकारले हस्तक्षेप गर्न सक्ने संकेत गरेका छन् ।

काठमाण्डौको कमलादीमा शुक्रबार आयोजित ग्लोबल आईएमई बैंक र जनता बैंक लिमिटेडको मर्जरपछि एकीकृत कारोबार सुरुआत समारोहलाई सम्बोधन गर्दै अर्थमन्त्री खतिवडाले यस्तो संकेत गरेका हुन् । यसअघि खतिवडाले कतिपय आफ्नो भाषणमा ठूला बैंकबीच फोर्ज मर्जर नहुने बताउने गरेका थिए तर आफ्नै पूर्वअभिव्यक्तिहरुलाई बदल्दै एकाघरका लगानी रहेका बैंक तथा वित्तीय संस्थाहरुमा फोर्स मर्जर हुन सक्ने संकेत गरेका हुन् ।

‘म गर्भनर हुँदा पनि एकै परिवारका धेरै सदस्यको वित्तीय संस्थामा लगानी रहेको थियो, नियममा केही कडाइ गरिएपछि नक्कली डिभोर्स गरेर पनि लगानी लुकाउन खोज्ने प्रवृत्ति देखियो’, अर्थमन्त्री खतिवडाले भने, ‘तपाइँहरुले सरकारलाई झुक्याउन सक्नुहुन्न, कागजमा डिभोर्स देखाइए पनि समाज यही, भोलिका दिनमा अप्ठ्यारो पर्न सक्छ ।’

अर्थमन्त्री खतिवडाले यसअघि पनि राष्ट्र बैंकमार्फत एउटै परिवारका सदस्यहरुको लगानी रहेका वाणिज्य बैंकहरुलाई स्वतःस्फुर्त मर्जरमा जान अनुरोध गरिएकोसमेत स्मरण गराए ।