काठमाण्डौ । यदि हामी कुनै होटेल तथा रेस्टुराँमा चिया वा कफी पिउन गयौँ भने वेटरले काँच, प्लास्टिक वा कागजको कपमा अर्डर टक्र्याउँछन् । काँचको कप त चिया वा कफी उपभोग गरेपछि पुनः धोएर प्रयोगमा ल्याउन सकिन्छ तर प्लास्टिक र कागजको कप डस्बिनमा फालिन्छ ।

यसरी चिया वा कफी पिउँदा प्रयोग हुने प्लास्टिक र कागजको कप पुनः प्रयोगमा नआउँदा यसले वातावरणीय प्रदूषणलाई बढावा दिएको छ नै अर्कोतर्फ यी कपहरु डिस्पोज हुन सयौँ वर्ष लाग्ने गरेका छन् । अब यी यावत समस्यबाट पार लगाउन युरोपियन मुलुक न्युजिल्यान्डमा नयाँ प्रयोग गर्न थालिएको छ ।

न्युजिल्यान्डको राष्ट्रिय वायुुसेवा कम्पनी एअर न्युजिल्यान्डले प्लास्टिक र कागजका कपबाट हुुने फोहोर कम गर्न खान मिल्ने कपको प्रयोग परीक्षण सुरु गरेको छ ।

स्थानीय ट्वाइस कम्पनीले बनाएको कप भेनिला बिस्कुट फ्लेभरमा रहेको छ र यी कप चुहावट नहुने कम्पनीले दाबी गरेको छ ।

वर्षमा करिब ८० लाख कप खपत गर्ने गरेको एअर न्युजिल्यान्डले आफ्नो यो नवीन थालनीले कपबाट हुुने फोहोर कम गर्न महत्वपूर्ण योगदान दिने दाबी गरेको छ । कम्पनीले कपको परीक्षण जमिन र आकाश दुुवैमा गरेको जनाएको छ र यसलाई वातावरण संरक्षणको अभियानको दरिलो कदमको रुपमा अगाडि सारेको जनाएको छ । भविष्यमा कपलाई डेजटका रुपमा समेत प्रस्तुुत गर्ने योजनामा कम्पनी रहेको छ ।

एयरलाइन्सले खान मिल्ने कपलाई वातावरण संरक्षणको महत्वपूर्ण कदमको रुपमा बताइरहँदा उता वातावरण संरक्षणकर्मीहरु भने एयरलाइन्सले उत्सर्जन गर्ने हानिकारक ग्यासहरुको तुलनामा यो कदमले खासै अर्थ नराख्ने बताउँछन् । – एजेन्सी