काठमाण्डौ । नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर शिवराज श्रेष्ठ बर्खास्त पर्ने निश्चित भएको छ ।

श्रेष्ठमाथि लागेको वित्तीय अपचलनका आरोपहरु अनुसन्धान गर्न गठित राष्ट्र बैंकको सञ्चालक समितिका सादस्य श्रीराम पौडेल संयोजक रहेका छानबिन समितिले प्रतिवेदन बुझाउँदै आरोपहरु सही साबित गरेको हो । समितिले हिजो मंगलबार राष्ट्र बैंकमा बुझाएको प्रतिवेदनमा श्रेष्ठले फाइल लुकाएर कतिपय वित्तीय संस्थाहरुलाई गलत काम गर्न प्रोत्साहित गरेको, कारबाही गर्नुपर्ने वित्तीय संस्थाहरुको फाइलहरु लुकाएको र सम्पत्ति शुद्धीकरणका कतिपय आरोपहरु सही सावित भएको उल्लेख छ।

राष्ट्र बैंक सञ्चालक समितिले छानबिन समितिको प्रतिवेदन हिजै पारित गरिसकेको छ । छानबिन प्रतिवेदन आज बुधबार अर्थ मन्त्रालयमा र त्यहाँबाट मन्त्रिपरिषद् प्रतिवेदन पुग्ने बताइएको छ।

डेपुटी श्रेष्ठको कार्यशैलीप्रति शंका उब्जिएपछि सरकारकै निर्देशनमा राष्ट्र बैंकले छानबिन समिति बनाएर प्रतिवेदन तयार पारेको हो। पौडेलको संयोजकत्वमा गठित छानबिन समितिमा रामजी रेग्मी र सुवोधकुमार कर्ण सदस्य थिए ।

अनुसन्धान गर्न छानबिन समिति गठन भएलगत्तै श्रेष्ठ निलम्बनमा छन् । छानबिन समितिले श्रेष्ठमाथि लागेका आरोपहरु सही प्रमाणित गरेपछि उनी बर्खास्तीमा पर्ने निश्चित भएको राष्ट्र बैंक स्रोत बताउँछ ।

स्रोतका अनुसार बर्खास्त गर्नुअघि श्रेष्ठलाई सरकारले १५ दिनको स्पष्टीकरण दिने समय दिनेछ । उनीबाट चित्तबुझ्दो जबाफ नआए मन्त्रिपरिषद्को निर्णयबाट उनी बर्खास्तीमा पर्नेछन् ।