काठमाण्डौ । सिटिजन्स बैंक इन्टरनेशनल लिमीटेडले सहयोगी विकास बैंकलाई प्राप्ति गर्ने गरी अन्तिम सम्झौतामा हस्ताक्षर गरेको छ। 

पुस २८ गते बैंकको मुख्यालय नारायणहिटीपथमा आयोजित एक कार्यक्रमका बीच बैंकका संचालक तथा मर्जर तथा प्रापित समितिका संयोजक प्रवलजंग पाण्डे र सहयोगी विकास बैंक लिमीटेडका तर्फबाट संचालक तथा मर्जर र प्राप्ति समितिका संयोजक डिल्लीप्रकाश घिमिरेले हस्ताक्षर गरेका बैंकले जनाएको छ । 

दुवै बैंकले आ-आफ्नो विशेष/वार्षिक साधारणसभाबाट प्राप्ति सम्बन्धी विशेष प्रस्ताव पारित गरी नेपाल राष्ट्र बैंकको अन्तिम स्वीकृतिपछि एकीकृत कारोबार सुरु गर्नेछन् । दुवै बैंकले गत असार २२गते प्राप्तिका लागि प्रारम्भिक समझदारीमा हस्ताक्षर गरेका थिए ।

पुस २७ गतेसम्मको तथ्याङ्कको आधारमा सिटिजन्स बैंकले सहयोगी विकाश बैंकलाई प्राप्ति गरेपछि सर्वसाधारणबाट उठाएको निक्षेप ८३ अर्ब २४ करोड रुपैयाँ पुग्नेछ भने सर्वसाधारणलाई दिएको ऋण लगानी ७३ अर्ब ९९ करोड रुपैयाँ पुग्नेछ । प्राप्तिपश्चात बैंकको कुल शाखा ९९ हुनेछ ।

सहमतिअनुसार, सहयोगी विकाश बैंक लिमिटेडका शेयरधनीहरुले १०० कित्ता शेयर बराबर सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडको ९१.७५ कित्ता शेयर पाउनेछन्। 

हाल सिटिजन्स बैंकको चुक्तापूँजी ८ अर्ब ६२ करोड रुपैयाँ रहेकोमा प्राप्तिपछिको चुक्तापूँजी ९ अर्ब ८ करोड रुपैयाँ हुनेछ । 

धनुषा, महोत्तरी र सिन्धुली जिल्ला कार्यक्षेत्र भएको सहयोगी विकास बैंकले १४ वटा शाखाहरूबाट बैंकिङ सेवाहरू प्रदान गर्दै आएको छ । यी तीन जिल्लामा हाल सिटिजन्स बैंकका ९ वटा शाखाहरू संचालनमा छन् । सहयोगीको प्राप्तिसँगै २३ वटा शाखाहरू संचालनमा आउनेछन्, जसबाट यस क्षेत्रका ग्राहकहरू लाभान्वित हुने विश्वास बैंकले व्यक्त गरेको छ ।