काठमाण्डौ । सिन्धुपाल्चोकमा निर्माणाधीन १०२ मेगावाट क्षमताको मध्यभोटेकोसी जलविद्युत् आयोजनाले रु. १ अर्ब ५० रुपैयाँबराबरको प्राथमिक सार्वजनिक निष्कासन (आईपीओ) जारी गर्ने भएको छ ।

आयोजना प्रभावित स्थानीय र सर्वसाधारणका लागि छुट्याएको २५ प्रतिशत सेयर निष्कासन गर्नका लागि आयोजनाले मंगलबार नागरिक लगानी कोषसँग मंगलबार प्रत्याभूति सम्झौतासमेत गरेको छ ।

सम्झौताअनुसार आयोजनाले प्रभावित क्षेत्र बासिन्दाका लागि १० प्रतिशतका दरले हुन आउने सय रुपैयाँ दरका ६० लाख कित्ता सेयर जारी गर्नेछ । यसैगरी सर्वसाधारणका १५ प्रतिशतको ९० लाख कित्ता गरी कुल २५ प्रतिशतका दरले हुन आउने १ करोड ५० लाख कित्ता सेयरबापत रु १ अर्ब ५० करोडबराबरको सेयर दोस्रो चरणमा सार्वजनिक निष्कासन गर्नका लागि आयोजनाले कोषसँग प्रत्याभूत सम्झौता गरेको हो ।

आयोजनाका अनुसार संस्थापक सेयरधनीतर्फ छुट्याइएको ५१ प्रतिशतको शतप्रतिशत असुल भएको छ । बाँकी ४९ प्रतिशत (२ करोड ९४ लाख कित्ता) मा कर्मचारी सञ्चय कोषका सञ्चयकर्ताका लागि १९.५ प्रतिशत (१ करोड १७ लाख कित्ता), संस्थापक कर्मचारीका लागि १ प्रतिशत अर्थात ६ लाख कित्ता गरी २४ प्रतिशत (१ करोड ४४ लाख कित्ता) प्रथम चरणमा निष्कासन गरिएको थियो । जुन सेयर पुस ४ गते सम्ममा बाँडफाट भइसकेको छ ।