काठमाण्डौ । संसारकै सर्वोच्च शिखर सगरमाथाको आधार शिविर कालापत्थरमा माघ ११ गते आयोजना हुन लागेको ‘माउन्ट एभरेष्ट फेसन रनवे’ मा सहभागी हुने राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कलाकारहरुको नेपाल मेडिसिटी अस्पतालले स्वास्थ्यउपचार गरेको छ ।

५१६४ मिटर उचाइमा रहेको आधार शिविरमा आयोजना हुने यो कार्यक्रम विश्वकै उचाइमा आयोजना गर्न लागिएको पहिलो फेसन कायक्रम हो । जुन गिनिज वल्र्ड रेकर्ड दाबेदार हुनेछ ।

जलवायु परिवर्तनले पारेको नकारात्मक असरबारे विश्व समुदायको ध्यानाकर्षण गर्ने उद्देश्यका साथका लापत्थरमा आयोजना हुने रनवेका लागि सहभागीले लुक्लाबाट कार्यक्रमस्थलसम्म र त्यहाँबाट लुक्लासम्म आउनका लागि १४ दिनको पैदलयात्रा गर्नेछन् । उचाइ, चिसो र सुक्खापनलाई मध्यनजर गर्दै नेपाल मेडिसिटी अस्पतालले मेडिकल टिम र आवश्यक सामग्री उपलब्ध गराएको छ । साथै आकस्मिक अवस्थामा उद्धारका लागि हेलिकोप्टर सेवा उपलब्ध हुनेछ ।

काठमाण्डौबाट माघ ३ गते कालापत्थरका लागि यात्रा शुरु गरिने र त्यसका लागि आवश्यक तयारी गर्न चिकित्सकहरुले हिजो बुधबार नेपाल मेडिसिटी अस्पतालकै अडिटोरियम हलमा आकस्मिक उपचार सेवा, छाला तथा शरीर रक्षा एवं शारीरिक तन्दुरुस्तीका बारेमा जानकारी गराउने कार्यक्रम राखिएको थियो ।

नेपालीहरुलाई उपचारकै लागि विदेश जानुपर्दैन भन्ने सन्देश प्रदान गर्दै आएको अस्पतालले नेपालमा मेडिकल टुरिजमका लागि प्रशस्त सम्भावना रहेको विश्वास राख्दै आएको छ । संसारकै उच्च शिखर सगरमाथाको आधार शिविरमा आयोजना हुने यो फेसन रनवेले विश्वसामु नेपाललाई चिनाउने अर्को एउटा कारण दिलाउने आशा राखीएको छ ।

अस्पतालले यस रनवे सौन्दर्य कार्यक्रमभन्दा माथि उठी राष्ट्रिय गौरवको कार्यक्रम भएकाले यस किसिमको कार्यक्रमका सहभागीलाई स्वास्थ्योपचार प्रदान गर्न पाएकोमा खुसी व्यक्त गर्दै आयोजकलाई इतिहास रच्ने कार्यका लागि शुुभकामना व्यक्त गवरेको छ ।

रनवेका सम्पूर्ण सहभागी माघ ३ गते लुक्ला प्रस्थान गर्दैछन् । मेडिकल टिमले सम्पूर्ण तयारी पूरा गरेको छ ।