काठमाण्डौ । अर्थमन्त्री डा. युवराज खतिवडाको उपस्थितिमा शुक्रबार अर्थ मन्त्रालयमा अन्तर्राष्ट्रिय मुद्रा कोषको आर्टिकल फोर मिसनको समापन बैठक सम्पन्न भएको छ । 

राष्ट्रिय योजना आयोगका उपाध्यक्ष, नेपाल राष्ट्र बैंकका गभर्नर, अर्थसचिव, राजश्व सचिव तथा अर्थमन्त्रालय र नेपाल राष्ट्रबैंकका उच्च पदाधिकारीहरुको समेत सहभागिता रहेको उक्त बैठकमा मिसन प्रमुख लाउरा जरमिलोले नेपालले पछिल्लो समयमा समग्र आर्थिक स्वास्थ्यमा गरेको सुधारको प्रशंसा गर्दै वि.सं. २०७२ सालमा विनाशकारी भूकम्पबाट भएको क्षतिको बाबजुद बढ्दो राजनीतिक स्थिरता, नीतिगत सुधार, विद्युत आपूर्तिमा भएको सुधार र पुनर्निर्माण क्रियाकलापले गर्दा नेपालको अर्थतन्त्र विगत केही वर्षहरुमा पूर्व अनुमान गरेभन्दा बढी विस्तार भएको, चालू पूँजी खातातर्फको घाटा सुधार हुँदै गएको, कर्जा प्रवाहमा सुधार देखिएको, विदेशी मुद्राको सञ्चिती बढ्दै स्थायित्वतर्फ अग्रसर भएको, व्यापार घाटा क्रमशः कम हुँदै गएको, पछिल्लो समय नेपालमा गरिएको सुधारको प्रयासले व्यवसायिक वातावरण अनुकूल बन्दै गएको बताउँदै उक्त सुधार कार्यक्रमलाई संस्थागत, दिगो र थप प्रभावकारी बनाउन जोड दिनुपर्ने बताए । 

मिसन प्रमुख जरमिलोले गरिबी निवारणमा नेपालले हासिल गरेको प्रगति तथा संविधानले मार्गनिर्देश गरेअनुसार वित्तीय संघीयता कार्यान्वयनमा छोटो समयमा नेपालले प्राप्त गरेको उपलब्धिको सराहना गर्दै कसिलो समष्टिगत आर्थिक नीतिसहित वित्तीय स्थायित्व हासिल गर्नुपर्नेमा जोड दिए । उनले भन्सार र राजस्व प्रशासनमा पछिल्ला समयमा गरिएका सुधारका प्रभाव क्रमशः देखिन थालेको र सो तथ्य आयातमुखी राजश्व परिचालन क्रमशः आन्तरिक स्रोततर्फ स्थानान्तरण हुन गएको घटनाले पुष्टि गरेको उल्लेख गरे । 

मिसन प्रमुख जरमिलोले भारतको अर्थतन्त्रमा आएको गिरावट, विप्रेषणमा हुनसक्ने सम्भावित कमी र प्रतिकूल मौसमका कारण कृषि उत्पादनमा आउनसक्ने कमीका कारण चालु आर्थिक वर्षमा नेपालले अनुमान गरेअनुसारको आर्थिक वृद्धिमा केही कमी आउनसक्ने आँकलन गरे तापनि सुधारका प्रयास सही दिशातर्फ उन्मुख भएकोले मध्यम तथा दीर्घकालमा यसको सकारात्मक प्रभाव अर्थतन्त्रमा देखिने बताए । उनले वित्तीय पहुँच तथा समावेशितामा भएको प्रगति, मौद्रिक तथा वित्तीय क्षेत्रमा भएका सुधार प्रयासलाई निरन्तरता दिंदै मध्यम आय भएको मुलुकमा रुपान्तरण हुन पूर्वाधार लगानीमा अझ बढी जोड दिनुपर्ने उल्लेख गरे ।

सो अवसरमा अर्थमन्त्री डा. युवराज खतिवडाले मिसनले प्रतिवेदन तयार पार्न गरेको अथक प्रयासप्रति धन्यवाद दिंदै नेपालमा हाल अर्थतन्त्रका अधिकांश परिसूचकहरु सकारात्मक रहेका, करिब १ अर्ब अमेरिकी डलर बराबर वैदेशिक लगानीको सम्झौता भइसकेको, सहमति भइसकेका आयोजनाहरु तुरुन्त कार्यान्वयन गर्न सकिने अवस्थामा रहेको, केही ठूला आयोजनाहरु यसै वर्ष सम्पन्न हुने र केही आगामी वर्षमा सम्पन्न हुने अवस्थामा रहेको, रेलमार्ग निर्माण तथा सडकमार्गको स्तरोन्नतिका ठूला आयोजना तयारी अवस्थामा रहेका, पर्यटन क्षेत्रमा सुधारका संकेत देखिन थालेको, आगामी वर्षदेखि विद्युत उत्पादनमा वृद्धि भई निर्यात वृद्धि र आयात प्रतिस्थापनमा सहयोगी भूमिका निर्वाह गर्ने कारण आर्थिक विस्तारका संभावना प्रचुर रहेको बताए ।

सो क्रममा डा. खतिवडाले दक्षिण एशियाली मुलुकलगायत अन्य मुलुकहरुमा समेत आर्थिक क्षेत्रमा आएको गिरावटको समीक्षा गर्दै त्यसबाट नेपाललाई पर्नसक्ने नकारात्मक प्रभावलाई रोक्न सजक रहेको तथा सम्भावित जोखिमहरुलाई व्यवस्थापन गर्न नेपाल सक्षम रहेको बताउँदै नेपालको विशिष्ठ अवस्थाको बारेमा समग्र मूल्याङ्कन गरी सही निष्कर्षमा पुग्न उपयुक्त हुने राय दिए ।

सो कार्यक्रममा अन्तर्राष्ट्रिय मुद्राकोषका दक्षिणपूर्वी एशियाली मतदान समूहका कार्यकारी निर्देशक अलिसारा महासन्दना समेत सहभागी थिए । समापन बैठकअघि उनले अर्थमन्त्रीसँग शिष्टाचार भेट गरी नेपाल र अन्तर्राष्ट्रिय मुद्रा कोष बीच वित्तीय र प्राविधिक सहयोगका क्षेत्रहरु बारे परामर्श गरेका थिए । 

अन्तर्राष्ट्रिय मुद्रा कोषको आर्टिकल फोर मिसनले पुस २० गतेदेखि माघ २ गतेसम्म विभिन्न सार्वजनिक तथा निजी क्षेत्रका निकाय तथा पदाधिकारीहरु लगायत नेपालमा अवस्थित विकास साझेदारका प्रतिनिधिहरुसँग छलफल तथा प्राप्त सूचनाको अध्ययन र विश्लेषण गरी आफ्नो धारणा प्रस्तुत गरेको थियो ।