काठमाण्डौ । नेपाल राष्ट्र बैंकको निर्देशनलाई अटेर गर्दै हिमालयन बैंक लिमिटेडले बल्ल आफ्नो २७ औँ वार्षिक साधारणसभाको मिति र स्थान तय गरेको छ ।

बैंकले यही माघ २९ गते काठमाण्डौको भद्रकालीस्थित त्रिभुवन आर्मी अफिर्स क्लबमा वार्षिक साधारणसभा गर्ने निर्णय गरेको हो । राष्ट्रबैंकले भने गत पुस ७ गते नै पत्र पठाउँदै ३० दिनभित्र सञ्चालकहरुको निर्वाचसहित वार्षिक साधारणसभा गरिसक्न निर्देशन दिएको थियो ।

राष्ट्रबैंकको निर्देशनअनुसार हिमालयन बैंकले माघ ७ गतेसम्म वार्षिक साधारणसभा गरिक्नुपर्ने थियो । तर हिमालयन बैंकले राष्ट्रबैंकको निर्देशनलाई लत्याउँदै तीन साता ढिला गरी वार्षिक साधारणसभाको मिति तय गरेको हो ।

राष्ट्रबैंकको बैंक सुपरीवेक्षण विभागले हिमालयन बैंकको संचालक समितिलाई पुस ७ गते एक पत्र पठाउँदै ७ बुँदे निर्देशन दिएको थियो । बुँदा नम्बर ६ मा केन्द्रीय बैंकले स्पष्ट रुपमा संस्थापक सेयरधनीहरुको तर्फबाट संचालक समितिमा प्रतिनिधित्व गर्ने संचालकहरुको निर्वाचन ३० दिनभित्र गराउने आवश्यक व्यवस्था मिलाउन भनिएको थियो । यो पत्रमा राष्ट्रबैंकले बैंकमा सर्वसाधारण सेयरधनीको स्वामित्व कम्तीमा ३० प्रतिशत कायम हुने गरी व्यवस्था मिलाउन समेत भनेको थियो ।

साधारणसभा गर्न र निर्वाचन कार्यक्रम सार्वजनिक गर्न न्यूनतम २१ दिनको सार्वजनिक सूचना जारी गर्नुपर्ने हुन्छ ।

राष्ट्रबैंकको सुपरीवेक्षण विभागले हिमालयन बैंकलाई पुस २३ गते समेत अर्को पत्र पठाउँदै संस्थापकतर्फका संचालकहरुको निर्वाचन ३० दिनभित्र गराउन निर्देशन दिइएकोमा हालसम्म पनि त्यस बैंकबाट वार्षिक साधारणसभा आह्वान भएको नदेखिएको भन्दै ३ दिनभित्रमा स्पष्टीकरण पठाउन भनिएको थियो ।

हिमालयन बैंकले भने पुस २१ गतेको सञ्चालक समितिको बैठकले वार्षिक साधारणसभाको मिति र स्थान तय गरेको जनाएको छ ।

हिमालयन बैंकमा हबिब बैंक पाकिस्तान(२० प्रतिशत), सर्वसाधारणको(१५ प्रतिशत), कर्मचारी सञ्चयकोष(१४ प्रतिशत), मनोजबहादुर श्रेष्ठको एन ट्रेडिङ कम्पनी(१२.७१ प्रतिशत), खेतान समूहको म्युचुअल ट्रेडिङ(११.८५ प्रतिशत) तथा राणा समूहको आभा इन्टरनेशनल(११.३८ प्रतिशत) बैंकमा सेयर छ । मनोजबहादुर श्रेष्ठका भाईको छायाँ इन्टरनेशनलको ८.८९ प्रतिशत सेयर छ । 

यो बैंकमा विगत लामो समयदेखि मनोजबहादुर श्रेष्ठ र उनका भाईले दाइँ गर्दै आएका छन् । संस्थागत सुशासनविपरीतका थुप्रै अभ्यासहरु भएका छन् । बैंकको वृति विकासको योजना अगाडि बढाउने विषयमा समेत श्रेष्ठले लामो समयदेखि व्यवस्थापनलाई असहयोग गर्दै आएका गम्भीर आरोप लाग्ने गरेको छ । यो बैंकमा लामो समयदेखि संचालक र उच्च व्यवस्थापनबीच गम्भीर द्वन्द्व हुँदै आएको छ ।

माघ २९ गते डाकिएको सभाबाट गत आर्थिक वर्षका लागि प्रस्तावित १० प्रतिशत बोनस सेयर र १२ प्रतिशत नगद लाभांश (करसहित) अनुमोदन गर्नेछ । त्यस्तै बैंको अधिकृत पुँजी १० अर्बबाट वृद्धि गरी १२ अर्ब रुपैयाँ पुर्याउनेसम्बनधी विशेष प्रस्ताव पनि पारित गर्नेछ ।

सभामा प्रबन्धपत्र तथा नियमावलीमा व्यवस्था भएअनुसार संस्थापक सेयरधनीहरुका तर्फबाट पाँचजना सञ्चालकहरुको मनोनयन÷निर्वाचन गर्ने प्रस्ताव पनि पारित हुनेछ ।