धुलिखेल–बर्दिवास सडकखण्डमा सवारी साधन केही समय राख्न र  रोक्न (पासिङ जोन ) निर्माण गरिने भएको छ । 
 
एक लेन चौडाइको सो सडकमा एउटा सवारीसाधन बिगँ्रदा अथवा राकिएर रहँदा सवारीसाधन आगमन ठप्प हुने अवस्थालाई अन्त्य गर्ने ठाउँ ठाउँमा पासिङ जोन निर्माण गर्न लागिएको हो । 
 
एक सय ६० किमि सडकमा चार पाँच सय मिटरको दूरीमा जोन निर्माण गर्ने गरी योजना बनाइएको आयोजना व्यवस्थापक सूर्यबहादुर भाटले जानकारी दिनुभयो ।  उहाँका अनुसार चार खण्डमा विभाजित सडकमा सबैभन्दा साँघुरो भागका रुपमा खुर्काेट–नेपालथोक रहेको छ । उहाँले भन्नुभयो, “चौडाइ बढी भएकोभन्दा कम चौडाइको सडकमा बढी आवश्यक देखिएको छ ।”
 
साँघुरो सडकमा पछिल्लो समय सवारी चाप बढिरहेको हुँदा यसको विकल्पको खोजी शुरु गरिएको हो । बिसाउन र रोक्न मिल्ने स्थान भएकैमा सवारीसाधनले उछिन्ने पनि गर्न सक्छन् । सडक विस्तारको तयारी अघि बढिरहँदा ‘जोन’ पनि तयारी भएको हो । आयोजना व्यवस्थापक भाटले भन्नुभयो, “सडकको बढी साँघुरा स्थानमा जोन निर्माणको योजना बनाइएको हो ।”
 
सडक विभागले अन्य राजमार्गमा पनि पासिङ जोन निर्माण गर्दै जाने नीति बनाएको छ ।  निर्माणाधीन नागढुङ्गा–सिस्नेखोला सुरुङमार्गमा पनि बिसाउन र रोक्न मिल्ने स्थानसमेत डिजाइनमा छ । 
 
मुख्य सुरुङमार्गमा तीन वटा सवारीसाधन सहज आवतजावत गर्न सक्ने र एउटा गाडी बिगँ्रदा पनि दुईवटै गाडी चल्न सक्नेछन् । सहायक टर्नेल तत्काल उद्धारका लागि हुने बताइएको छ । ठाउँठाउँमा मुख्य सुरुङबाट सहायक सुरुङ प्रवेशको द्वार बन्नेछ ।