काठमाण्डौ । क्रेडिट रेटिङ एजेन्सी इक्रा नेपालले स्ट्याण्डर्ड चार्टर्ड बैंकको अतिरिक्त निश्कासन(एफपीओ)लाई ‘ग्रेड टु प्लस’को रेटिङ प्रदान गरेको छ । नेपालमा हालसम्मका सार्वजनिक निश्कासनहरुमध्ये यति राम्रो रेटिङ यसअघि कुनै पनि कम्पनीले पाएका थिएनन् । 

इक्रा नेपालले बैंकका प्रोमोटरको बलियो प्रोफाइल, स्थापित बैकिङ छवि र निकै कम कस्ट अफ फण्ड लगायतका आधारमा यो स्तरको रेटिङ प्रदान गरिएको दाबी गरेको छ । इक्रा नेपालले महाभूकम्प र भारतको नाकाबन्दीपछि देशको अर्थतन्त्र चौपट हुँदाको अवस्थामा समेत आफ्नो सम्पत्ति मूल्यलाई जोगाइराख्न सफल बनेको बिषयलाई समेत राम्रो रेटिङ प्रदान गरिएको कारणको रुपमा प्रस्तुत गरेको छ ।

तर, यो बैंक पछिल्लो कालमा खिइँदै गएको छ । मुनाफा तथा ग्रोथको मुख्य सूचकहरुको अवस्था पहिला भन्दा नाजुक छन् । विगत ५ वर्षको अवधिमा यसको क्रेडिट ग्रोथ ११ प्रतिशतमा सीमित छ । जबकि यो अवधिमा बैकिङ उद्योगको ग्रोथ औसतमै २१ प्रतिशत छ । बैंकको मुख्य सूचकहरुको गिर्दो अवस्था हेर्दा इक्रा नेपालको रेटिङको औचित्य पुष्टि हुनसक्ने अवस्था चाहि छैन। 

इक्रा नेपालले नेपालका कम्पनीहरुको सार्वजनिक निश्कासन तथा हकप्रदको रेटिङ प्रदान गर्दै आएको छ । यसले कम्पनीको अवस्थामा आधारित रही १ देखि ५ सम्मको रेटिङ प्रदान गर्छ । कम्पनीको अवस्था उत्कृष्ट हुने कम्पनीलाई १ र कमजोर हुनेलाई ५ को रेटिङ प्रदान गरिन्छ । स्ट्याण्डर्ड चार्टर्डले पाएको टु प्लस टुको ग्रेडिङ भन्दा उत्कृष्ट भन्ने हो । 

यो बैंकमा स्ट्याण्डर्ड चार्टर्ड समूह, लण्डनको ७५ प्रतिशत सेयर रहेको छ । यो बैंकले प्रिमियमसहित १२९० रुपैयाँमा २५ लाख ५८ हजार  कित्ता एफपीओ निश्कासनको प्रस्ताव गरेको छ । एफपीओपछि संस्थापक सेयरधनीको स्वामित्व ७५ बाट घटेर ७० मा सीमित हुने बताइएको छ । धितोपत्र बोर्डले यो बैंकको एफपीओ निश्कासनको स्वीकृति दिइसकेको छ । तर लगानीकर्ताबाट गुनासो भएपछि बोर्डले मौखिक रुपमा बैंकलाई हतारोमा एफपीओ निश्कासन नगर्न र आह्वानपत्र प्रकाशन गर्नुअघि आफूहरुसँग सल्लाह लिन मौखिक निर्देशन दिएको छ । अहिलेको व्यवस्था अनुसार एफपीओको अनुमति पाएको २ महिनाभित्र निश्कासन गरिसक्नुपर्छ । स्ट्याण्डर्ड चार्टर्डले केही ढिलो गरेर एफपीओ निश्कासनको तयारी गरेको छ । 
 

यी समाचार पनि हेर्नुहोस् :