काठमाण्डौ । चीनमा महामारीका रुपमा फैलिएको कोरोनाभाइरसका कारण अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको भाउ भारी गिरावट आएको छ ।

गत शुक्रबारसम्म कच्चा तेलको भाउमा प्रतिब्यारल करिब ५ डलरको गिरावट आइसकेको छ ।

चीन विश्वमा कच्चा तेल आपूर्ति गर्ने दोस्रो ठूलो देश हो । जहाँ अहिले कोरोनाभाइरसको प्रकोपका कारण थुप्रै सहरहरुमा सार्वजनिक यातायात साधन चलाउन बन्द गरिएको छ । जसका कारण चीनमा कच्चा तेलको आपूर्ति घट्न गई अन्तर्राष्ट्रिय बजारमा यसको भाउ घट्न गएको हो ।

लगातार चार दिनदेखि घटिरहेको कच्चा तेलको भाउ शुक्रबार प्रतिब्यारेल ६०.६२ डलरमा झरेको छ । जुन सात महिनायताकै कम भाउ हो । सन् २०१९ डिसेम्बरमा कच्चा तेलको भाउ अन्तर्राष्ट्रिय बजारमा प्रतिब्यारेज ६०.३० डलर थियो ।

कच्चा तेलको भाउमा गत साताको तुलनामा करिब ७ प्रतिशतले गिरावट आएको छ । जुन सन् २०१८ डिसेम्बरपछि सबैभन्दा बढी गिरावट हो । 

लामो समयदेखि जारी व्यापार युद्ध अन्त्यका लागि अमेरिका र चीनबीच भएको पहिलो चरणको सम्झौतापछि चीनले कच्चा तेलको माग बढाउने अनुमान गरिएको थियो । तर एक्कासि देखिएको कोरोनाभाइरसको प्रकोपका कारण चीनमा तेलको माग कमी आएको हो । जसका कारण माग कमजोर हुँदा कच्चा तेलको भाउमा व्यापार गिरावट आइरहेको हो । – एजन्सी