काठमाण्डौ । डेपुटी गभर्नर शिवराज श्रेष्ठको निलम्बन र त्यसपछि पुनर्बहाली प्रकरणपछि नेपाल राष्ट्रबैंकमा एक अर्कालाई सिध्याउने खेल चरम उत्कर्षमा पुगेको छ । 

डेपुटी गभर्नर श्रेष्ठलाई ‘भावी गभर्नर’को दौडबाट बेलैमा पाखा लगाउने योजनाअनुसार नै अनेकन आरोप लगाएर मन्त्रीपरिषदबाटै निलम्बनसम्मको खेल खेलिएकोमा नेपाल राष्ट्रबैंकका कर्मचारीहरुमा आक्रोशको आगो बलिरहेको देखिएको हो । 

विभिन्न आरोप लगाएर शिवराज श्रेष्ठलाई निलम्बनको शिकार बनाइएको भन्दै राष्ट्रबैंकका कर्मचारीहरुले यसविरुद्ध संघर्ष गर्नेसम्मको चेतावनी दिंदै आएका थिए । तर, शिवराज श्रेष्ठलाई फेरि सरकारले नै आरोप प्रमाणित नभएको भन्दै पुनर्बहाली गर्यो । यसले श्रेष्ठलाई सिध्याउने खेलमा लागेको समूहको स्वार्थ त पूरा भएन, तर यो प्रवृति प्रत्यक्ष देखेका राष्ट्रबैंकका कर्मचारीहरु भने यस्तो खेल खेलेर एक व्यक्तिलाई बलीको बोका बनाउन खोज्नेमाथि कारबाही हुनुपर्ने निश्कर्षमा पुगेका देखिएको छ । 

‘राष्ट्रबैंकमा गुटबन्दी र हानाहानको खेल सुषुप्त अवस्थामै भए पनि थियो, तर शिवराज श्रेष्ठलाई सिध्याउने गरी षड्यन्त्र भएपछि भने यसले आगोको रुपमा लिएको छ ।’ एक कार्यकारी निर्देशकले आइतबार बिजशालासँग भने–‘श्रेष्ठको पुनर्बहालीपछि उनलाई फसाउनेहरुविरुद्ध कर्मचारी आक्रोशित देखिएका छन् । तिनीहरुलाई समेत नछाड्ने भन्दै उनीहरुभित्रको आक्रोश भित्रभित्रै विस्फोट हुने अवस्था सिर्जना भइसकेको छ ।’
 
नेपाल राष्ट्रबैंकमा अहिले सबैभन्दा धेरै आक्रोश अर्थमन्त्री डा. युवराज खतिवडा र उनका ज्वाई राष्ट्रबैंकको रिसर्च डिपार्टमेन्टको नेतृत्व गरिरहेका डा. रामशरण खरेलविरुद्ध देखिएको छ । राष्ट्रबैंकका धेरै कर्मचारीमा डा. खरेलकै रिपोर्टिङ र योजना तथा अर्थमन्त्रीको समेतको सहभागितामा डेपुटी गभर्नर श्रेष्ठलाई सिध्याउने खेल भएको बुझाई पाइयो । 

‘यो सबै ग्राण्ड डिजाइनको पछि ससूरा ज्वाईँको हात छ ।’ ती कार्यकारी निर्देशकले भने–‘अहिले माथिदेखि तलसम्मको कर्मचारीमा अर्थमन्त्री र उनका ज्वाइँ विरुद्धको आक्रोश आगो झै फैलिरहेको छ, बढिरहेको छ ।’ 
डा. खरेलले आफ्ना ससूराको शक्तिको दुरुपयोग गरी आफ्ना विरोधीहरु सिध्याउने खेल खेलिरहेका कर्मचारी बताउँछन् । ‘उनी अहिले म लगायतका केही साथीहरुविरुद्ध समेत देखिएका छन् ।’ एक पीडित भनिने कर्मचारीले नाम नखुलाइदिन आग्रह गर्दै बिजशालासँग भने–‘हाम्रो बाटो बन्द गरेर आफू अगाडि बढ्ने उनको योजना सफल हुन दिंदैनौ । शक्ति छ भन्दैमा इमानदार राष्ट्रसेवक कर्मचारीमाथि कसैले यति हदसम्मको अन्याय र अत्याचार गर्नु हुँदैन, सहिन्न ।’ 

नेपाल राष्ट्रबैंकका अधिकांश कर्मचारीहरु अर्थमन्त्रीको रुपमा डा. खतिवडाको थमौति नहोस् भन्ने पक्षमा देखिएका छन् । बिजशालाको स्थलगत रिपोर्टिङको क्रममा कर्मचारीहरु अर्थमन्त्री डा. खतिवडा र उनका ज्वाई डा. खरेलप्रति निकै नै धेरै रिसाएका पाइयो । ‘उनीहरुकै कारण मनमुटाव, हानाहान र एकअर्कालाई सिध्याउने खेलको सुरुवात गरियो, अब यस्तै पारा हो भने राष्ट्रबैंकका कर्मचारी दिनभरि एकअर्काविरुद्धको षड्यन्त्रमा लाग्ने अवस्था आउनेछ ।’ कर्मचारीहरु चिन्ता व्यक्त गर्दै भन्छन्–‘सरकारको प्रमुख आर्थिक सल्लाहकारको रुपमा रहने निकायमा यस्तो भयो भने यसबाट आउने आउटकममा ह्रास आउनेछ । यसले नराम्रो वातावरण तयार गर्नेछ ।’ 

कर्मचारीहरुले अर्थमन्त्री र उनका ज्वाइँका कारण केन्द्रीय बैंकमा तनावको अवस्था सिर्जना भएको भन्दै यसलाई मत्थर पार्ने उपाय खोज्न प्रधानमन्त्रीलाई आग्रह समेत गरेका छन् । ‘शिवराज श्रेष्ठकै केशमा समेत ढिलो नै सही प्रधानमन्त्रीले कुरा बुझेकै कारण उहाँको पुनर्बहाली भएको हो ।’ कर्मचारीहरुले भने–‘यो विषय पनि उहाँले बेलैमा बुझ्नुपर्छ । मनमुटाव र हानाहानको अवस्थाले अनिष्ठ हुनसक्छ, यो अवस्था बेलैमा अन्त गरिन आवश्यक छ ।’