काठमाण्डौ । कोरोनाभाइरसको चपेटामा परेको चीनमा उपचारमा संलग्न चिकित्सकसँगै एक सयभन्दा बढी ज्यान गुमाइसके भने सयौँ मानिस प्रभावित छन् । यो भाइरस रोकथामको प्रयास युद्धस्तर भइरहे पनि चिनियाँ सरकारले खासै सफलता पाइरहेका छैनन् ।

चीनमा महामारीका रुपमा फैलिएको कोरोनाभाइरसबाट आफ्ना देशका नागरिकलाई बचाउन विभिन्न देशले आफ्नो स्तरबाट पहल गरिरहेका छन् । यस्तैमा लोकप्रिय सामाजिक सञ्जाल फेसबुक, गाडी निर्माता कम्पनी फोर्डजस्ता उच्चस्तरका कम्पनीहरुले आफ्ना कर्मचारीहरुलाई चीन भ्रमणमा रोक लगाएका छन् ।

चीनको वुहान सहरबाट फैलिरहेको यो भाइरसले चीनमा अहिले अधिकांश बहुराष्ट्रिय कम्पनीहरुले आफ्नो कार्यालयहरु बन्द गरिसकेका छन् भने केही उच्चस्तका कम्पनीहरुले व्यापारिक प्रयोजनका लागि चीन भ्रमण पठाइने कार्य पनि रोक्न थालेका छन् । त्यस्ता कम्पनीहरुले हालहालै चीन भ्रमण सकेर फर्केका आफ्ना कर्मचारीहरुलाई काममा फर्किन पनि रोक लगाउने निर्णय गरेका छन् ।

सामाजिक सञ्जाल फेसबुकले अनौपचारिक रुपमा चीन भ्रमण योजना बनाइरहेका आफ्ना कर्मचारीहरु भ्रमण रोक्न निर्देशन दिएको छ । फेसबुकले हालै चीनबाट फर्किएका आफ्ना कर्मचारीलाई तत्कालका लागि घरमै बसेर कार्यालयको काम गर्न निर्देशन दिएको छ । तर उसले कति समयसम्म त्यस्ता कर्मचारी घरमै बसेर काम गर्ने भन्ने विषयमा भने यकिन गरिसकेको छैन ।

अमेरिकाको केन्द्रीय रोग नियन्त्रण कार्यालयले पनि चीन भ्रमणको योजना स्थगित गर्न नागरिकहरुलाई आह्वान गरेको छ ।

यस्तै बहुचर्चित गाडी निर्माता कम्पनी फोर्डले पनि आफ्ना कर्मचारीलाई तत्काल चीन भ्रमण जान रोक लगाएको छ । त्यस्तै फोर्डले यदि हालै कोही चीन भ्रमण सकेर आएका छन् भने त्यस्ता कर्मचारीलाई १४ दिनभित्र क्वारेन्टाइन परीक्षण गरेरमात्र काममा फर्किन निर्देशन दिएको छ ।

यसैगरी बहुराष्ट्रिय अमेरिकी कम्पनी जोन्स एन्ड जोन्सले हाललाई आफ्ना कर्मचारीलाई अत्यावश्यक व्यावसायिकका लागि चीन भ्रमण जान अनुमति दिने भएको छ । त्यस्ता कर्मचारीले कम्पनीका वरिष्ठ अधिकारीहरुको अनुमति लिनुपर्नेछ । यो कम्पनीले हालहालै चीनको वुहान सहरबाट फर्केका कर्मचारीहरुलाई तत्कालका लागि घरमै बसेर काम गर्न निर्देशन दिएको छ।

उता जापानको कार निर्माता कम्पनी निसानले वुहानस्थित आफ्नो कार उत्पादन क्षेत्रबाट सम्पूर्ण कर्मचारीलाई जापान फिर्ता बोलाएर खाली गराएको छ । उसले आफ्ना कर्मचारीहरुलाई जापान फिर्ता गराउन दर्जनौँ विमान चार्टर गरेको थियो ।

त्यस्तै बेलायतको स्टान्र्डर्ड चार्टर्ड बैंकले पनि आफ्ना कर्मचारीहरुलाई चीन भ्रमणमा रोक लगाउनुका साथै कोरोनाभाइरससम्बन्धी सचेतना पनि फैलाउन थालेको छ ।

विश्वव्यापी सन्त्रास फैलाइरहेको कोरोनाभाइरसबाट नेपालमा केही व्यक्ति संक्रमित भएका छन् । ती संक्रमित सबै हालहालै चीनबाट फर्केकाहरु छन्।

नेपालले एकमात्र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलदेखि लिएर चीनसँग जोडिएका विभिन्न नाकामा सर्तकर्ता पनि उच्च बनाएको छ । – एजेन्सीको सहयोगमा