-धर्म मलाशी
काठमाण्डौ । सुविधा सम्पन्न सपिङ कम्प्लेक्स । मनोरञ्जनका लागि आवश्यक विकल्पहरुको सहज उपलब्धता । दिल खोलेर किनमेल गर्दै रमाइलो गर्न सकिने र आफन्त तथा प्रियजनसँगै बसेर मनपरेका परिकारको स्वाद लिँदै टहलिने उपयुुक्त वातावरण पनि त्यहीँ । केटाकेटीको मनोरञ्जनको लागि बाल उद्यानको छुुट्टै व्यवस्था । 

झट्ट सुन्दा तपाइलाई लाग्ला हामी कुनै बजार क्षेत्रको सुविधा सम्पन्न व्यवसायिक सपिङ कम्प्लेक्सको वर्णन गरिरहेका छौ । तर होइन,  हामीले यहाँ उल्लेख गरेका सुविधाहरु नेपाल सरकारले निकट भविष्यमै नेपालका आन्तरिक विमानस्थल क्षेत्रमै उपलब्ध गराउनेछ । यसको जानकारी पर्यटनमन्त्री योगेश भट्टराइले नेपाल नागरिक उड्डयन प्राधिकरणले देशका विमानस्थलको अवस्था र हालसम्मको प्रगति विवरणको विषयमा जानकारी दिन आयोजना गरेको कार्यक्रममा बताएका हुुन् । 

उनले अब नेपालका आन्तरिक विमानस्थललाई व्यवसायिक र आत्मनिर्भर बनाइने जानकारी दिएका छन् । ‘सरकारले अहिले कनेक्टीभिटीलाई विशेष जोड दिएको छ । चाहे त्यो वाटर कनेक्टीभीटी होस् वा रोड कनेक्टीभीटी होस् वा हवाई कनेक्टीभीटी होस् ।’ भट्टराईले भने ।

उनले सरकारले अब नेपालका सबै विमानस्थललाई व्यवसायिक ढंगले विकास गर्दै लगिने बताए । यसका लागि सरकारले नेपालका आन्तरिक विमानस्थलको सञ्चालन तीन तहका सरकार मिलेर गर्ने समेत जानकारी दिए । स्थानीय र प्रदेश सरकारले विमानस्थलको सञ्चालन, रेखदेख गर्ने र केन्द्र सरकारले सुरक्षा र व्यवस्थापकीय पक्ष सम्हाल्ने गरी सरकारकाले आवश्यक तयारी थालेको उनले बताए । 

‘अब बन्ने नयाँ विमानस्थलको जग्गा अधिग्रहणको कामको जिम्मेवारी स्थानीय सरकारलाई दिइने छ । र निमार्णको काम भने केन्द्र सरकार आफैंले गर्नेछ ।’ भट्टराईले भने–‘अब विमानस्थल विकासका लागि तीनै सरकारको समान सहभागिता रहनेछ ।’

भट्राइले हाल निर्माण भइरहेका सबै विमानस्थल सञ्चालनमा आएपछि नेपालमा वार्षिक एक करोड पर्यटक भित्रिने वातावरण बन्ने दाबी समेत गरे ।

यसका लागि सरकारले चाडै नै गौतमबुद्ध अन्तराष्ट्रिय विमानस्थल र अबको पाँच वर्षभित्र निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निमार्ण गरिसक्ने घोषणा गरे । निजगढ विमानस्थल प्रत्येक नेपालीको सपना भएको बताउँदै उनले भने–‘निजगढ विमानस्थलमा सरकारको अर्जुनदृष्टि छ । यो विमानस्थललाई सरकारले जसरी पनि समयमै निर्माण गर्छ । अहिले हामीसँग विश्राम लिने समय छैन ।’

भट्टराईले नेपालको विमानस्थलहरुमा आगामी ५ वर्षभित्रमा आमूल परिवर्तन हुने दाबी समेत गरे ।