काठमाण्डौ । प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी) ले शुक्रबार एकैपटक १४९ जना कर्मचारी आन्तरिक तथा खुला प्रतिस्पर्धाबाट पदपूर्ति गर्नका लागि दरखास्त आह्वान गरेको छ ।

सीटीईभीटीले प्रशासनिकदेखि प्राविधिकसम्मका कर्मचारीहरुका लागि दरखास्त खुलाएको हो । सीटीईभीटीले सहप्रशासक, मुख्य प्रशिक्षक र उपप्रशासकमा १/१ जनाका लागि दरखास्त खुलाएको छ ।

त्यस्तै कृषि, स्वास्थ्य, मेकानिकल, रेस्टुरेन्ट एन्ड लज, ट्रेनर र निर्माणमा १/१ जना वरिष्ठ प्रशिक्षक माग गरेको छ । सीटीईभीटीले शाखा अधिकृत ८ जना र लेखा अधिकृत ४ जनाका लागि दरखास्त खुलाएको छ । 

विद्युत्, इलेक्ट्रोनिक्स, मेकानिकल, स्वास्थ्य (नर्सिङ), स्वास्थ्य (साधारण), मेडिकल ल्याब, कृषि (पशुपालन), कृषि (बाली विज्ञान), अटोमोबाइल, रेस्टुरेन्ट एन्ड लज, होटल मेनेजमेन्ट, कुकिङ/बेकिङ, निर्माणमा प्रशिक्षकहरु, ट्रेनर र प्राविधिक अधिकृत (सूचना प्रविधि) पदमा ५८ जनालाई दरखास्त खुलाएको छ । 

यसैगरी प्रशासकीय सहायक ११ जना र लेखापाल २ जना पनि सीटीईभीटीले पदपूर्ति गर्ने भएको छ । 

कृषि (पशुपालन), निर्माण, स्वास्थ्य (साधारण), स्वास्थ्य (नर्सिङ), मेडिकल ल्याब, विद्युत्, मेकानिकल, कम्प्युटर, इलेक्ट्रोनिक्स, अटोमोबाइल, रेफ्रिजेरेसन एन्ड एयरकन्डिसन, स्यानिटरी प्लम्बिङ र होटल मेनेजमेन्टतर्फ सहायक प्रशिक्षक पदमा १७ जनाका लागि दरखास्त खुलाइएको छ । 

यस्तै कार्यालय सहायक ७ जना र सहलेखापाल १ जना माग गरिएको छ । 

प्रशिक्षण सहायकतर्फ कृषि (बाली), निर्माण÷मर्मत र स्वास्थ्यमा क्रमशः ८, ४ र ३ जनाका लागि आवेदन खुला गरिएको छ । 

प्रशिक्षण सहायकतर्फ नै स्वास्थ्य (सामान्य चिकित्सा), होटेल मेनेजमेन्ट, मेकानिकल, सेक्रेटरियल, विद्युत्/मर्मत र अटोमोबाइल पदमा क्रमशः ३, १, २, २, १ र २ जना माग गरिएको छ । 

वरिष्ठ प्रशिक्षकका लागि कम्तीमा सम्बन्धित विषयमा स्नातकोत्तर तह उत्तीर्ण गरेको हुनुपर्नेछ भने अधिकृत तथा प्रशिक्षक पदका लागि सम्बन्धित विषयमा स्नातक तह उत्तीर्ण गरेको हुनुपर्नेछ । यसैगरी प्रशासकीय सहायक र सहायक प्रशिक्षक पदका लागि भने सम्बन्धित विषयमा प्रमाणपत्र तह वा प्लस टु गरेको हुनुपर्नेछ । 

इन्छुक उम्मेदवारले माघ २४ गतेदेखि २१ दिनभित्र नियमित शुल्कमा र दोब्बर दस्तु तिरी थप ७ दिनभित्र दरखास्त दिने सक्नेछन् । दरखास्त खुलातर्फ http://jobs.ctevt.org.np र आन्तरिकतर्फ http://jobsinternal.org.np मा गई अनलाइन प्रणालीमार्फ दिनुपर्नेछ । 

पदपूर्तिसम्बन्धी थप जानकारी सीटीईभीटीको सूचना परिषद्को वेबसाइट www.ctevt.org.np  मा गएर हेर्न सकिनेछ ।