काठमाण्डौ । एनसेल प्राईभेट लिमिटेडले माइक्रोसफ्टको कम्युनिकेसन सोलुसन्स् अन्तर्गतका क्लाउड सर्भिस र अनलाइन मिटिङ् टुल लगायतका सेवाहरु नेपाली कम्पनीहरुलाई उपलब्ध गराउन माइक्रोसफ्ट कर्पोरेसनसँग सहकार्य गरेको छ । 

गत हप्ता आयोजित एक कार्यक्रममा विभिन्न बैंक, व्यवसायिक घराना, एनजिओ, आईएनजिओका २५० भन्दा बढी प्रतिनिधि तथा अधिकारीहरुकामाझ एनसेलले माइक्रोसफ्ट टियर वान क्लाउड सर्भिस प्रोभाइडर (सीएसपी) का लागि माइक्रोसफ्टसँग समझदारी भएको घोषणा गरेको हो । 

यो समझदारी अन्तर्गत एनसेलले विशेष गरी माइक्रोसफ्टका तीन सेवाहरुः अफिस थ्रिसिक्स्टिफाइभ, एज्योर र टिम्स् उपलब्ध गराउन आफ्नो ध्यान केन्द्रित गर्ने विज्ञप्तिमार्फत जनाएको छ ।

अफिस थ्रिसिक्स्टिफाइभ क्लाउडमा आधारित एक सेवा हो जसको प्रयोगले कार्यहरुमा प्रभावकारिता थप्दछ र कार्यालयमा सबैलाई अझ प्रोडक्टिभ बन्दै प्रभावकारी रुपमा एक अर्कासँग सम्पर्कमा रहन सहयोग गर्दछ । यसले जानकारीहरु पत्ता लगाउन, ज्ञानहरु बाँड्न, आफ्ना सहकर्मीहरुसँग कुराकानी गर्नदेखि लिएर योजनाहरु बनाई प्रशासनिक कामहरुमा लाग्ने समय घटाई चुस्त रुपमा कार्यहरु गर्न सबल बनाउँदछ । यसले गर्दा व्यवसायहरुले आफ्नो बढी समय अझ नवीन कार्यहरुमा लगाई आफ्नो व्यवसाय अघि बढाउन सक्छन् । 

त्यसैगरी माइक्रोसफ्ट एज्योर माइक्रोसफ्ट म्यानेज्ड डेटा सेन्टरहरु मार्फत आफ्ना एप्लिकेसन र सेवाहरु बनाउन, टेस्ट गर्न, प्रयोगमा ल्याउन प्रयोग हुने क्लाउड कम्प्युटिङ् सेवा हो । यो सेवा प्रयोग गर्ने कम्पनीका आईटी टिमले आफ्नो एप्लिकेसन बनाउन, त्यसको व्यवस्थापन गर्न र त्यसलाई आफूलाई मनपर्ने उपकरण र फ्रेमवर्कहरु प्रयोग गरी व्यापक रुपमा परिचालन गर्न सक्छन् ।

त्यस्तै कार्यलयभित्र एकीकृत संचार र सहकार्यलाई सघाउन माइक्रोसफ्टको अर्को नविन सेवा माइक्रोसफ्ट टिम्स् रहेको छ । कार्यलयभित्रको आन्तरिक च्याट, भिडियो मिटिङ, फाइल स्टोरेज र एप्लीकेशन इन्टिग्रेशन जस्ता विशेषता माइक्रोसफ्ट टिम्स्मा रहेको छ । यसले कार्यलयमा फाइल स्टोरेज, च्याट र अनलाइन मिटिङका लागि चुस्त वातावरण प्रदान गर्दछ । 

उक्त कार्यक्रममा आमन्त्रितहरुलाई सम्बोधन गर्दै एनसेलका प्रमुख कार्यकारी अधिकृत एण्डि चोङ्गले भने, “सहकार्य गर्ने पद्धति व्यापक रुपमा परिवर्तन भईरहेको छ । आधुनिक कार्यस्थलले मानिसहरुलाई आफ्नो कार्यालय भवनमा मात्र सीमित नभई सजिलै भेट्न, सहकार्य गर्न र सम्पर्कमा रहिरहन सहयोग गर्दछ । एनसेल र माइक्रोसफ्टले तीव्र रुपमा विकास भईरहेको सहकार्य गर्न सकिने क्षेत्रहरुमा ध्यान केन्द्रित गर्दै आफ्ना स्रोत र अनुभवहरुको समायोजन गरेको हो । यस्तो क्षेत्र दुवै कम्पनीहरुका लागि एक रणनीतिक बजार हो ।”

“नेपालमा रहेका ग्राहकहरुलाई प्रत्यक्ष रुपमा क्लाउड सेवा प्रदान गर्ने गरी एनसेलसँग सहकार्य थालिएको हो,” दक्षिण एसियाका लागि माइक्रोसफ्टका चिफ पार्टनर अफिसर आन्ह फामले भने–“शुरुवातको चरणमा क्लाउड सेवा साना तथा मझौला उद्यम, व्यवसायहरु लगायतका क्लाइन्टहरुलाई दिने छौं । यो सहकार्यले नेपालको डिजीटल ईकोसिस्टम विकासमा योगदान पुर्याउने विश्वास लिएका छौं । साथै ग्राहकहरुले हाम्रो सेवाहरु भ्याल्यु एडेड सर्भिसका रुपमा पाउनेछन् ।”

यस रणनीतिक सहकार्य पश्चात ग्राहकले एनसेलको आधुनिक नेटवर्क सेवाहरु र सफ्टवेयर प्रविधिहरुमा प्रभुत्व जमाएको माइक्रोसफ्टका नयाँ कोलाबारेसन र कम्युनिकेसन सोलुसन्स्हरु लिन सक्नेछन् । यी सेवाहरुले कर्मचारीहरुको उत्पादकत्व बढाउन योगदान गर्नेछ । विभिन्न डिभाइसहरुको प्रयोगमार्फत यी टुल्स्ले कम्पनी, समूह र व्यक्तिहरुलाई रियल टाइममा समन्वय गर्दै तदारुकताका साथ कार्यहरु गर्न सहजीकरण गर्दछ । 

विश्वस्तरिय सेवाहरु प्रदान गर्ने र उच्स्तरको कनेक्टिभीटी र डिजीटाईजेसनको लाभ प्रदान गर्ने कम्पनीको प्रतिवद्धता बमोजिम एनसेलले यी सेवाहरु आफ्नो एनसेल फर बिजनेस (एनफरबी) अन्तर्गत माइक्रोसफ्टसँगको सहकार्यमा नेपालमा ल्याएको हो । यी सेवाहरुले नेपालका साना तथा ठूला सबै व्यवसायहरुलाई उनीहरुको लक्ष्य प्राप्ति गर्न सहयोग पुर्याउने विश्वास लिईएको छ ।