काठमाण्डौ । नेपाल राष्ट्रबैंकले चालु आर्थिक वर्षको पहिलो ६ महिनाको आर्थिक तथा वित्तीय क्षेत्रको चित्र सार्वजनिक गरेको छ । 

समीक्षाको रुपमा सार्वजनिक भएको रिपोर्ट अनुसार आयात घटेको छ भने निर्यात बढ्ने अघिल्ला महिनाहरुको प्रवृतिले निरन्तरता नै पाएको छ । तर, आयाततर्फको घट्ने दर तथा निर्याततर्फको बढ्ने दर भने केही साँघुरिँदै गएको देखिएको छ । 

आर्थिक वर्ष २०७६/७७ को ६ महिनामा कुल वस्तु निर्यात २६.१ प्रतिशतले वृद्धि भई रु.५७ अर्ब २८ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो निर्यात ११.५ प्रतिशतले वृद्धि भएको थियो । जबकि पाँच महिनामा कुल वस्तु निर्यात २७ प्रतिशतले वृद्धि भई रु.४७ अर्ब ६२ करोड पुगेको थियो । यसको अर्थ वस्तु निर्याततर्फको दर घट्न थालेको देखिएको छ । एक महिनाकै अवधिमा निर्यातको वृद्धिदरमा ३.३३ प्रतिशतको संकुचन आएको देखिएको छ । 

यस्तै, कुल वस्तु आयात ४.० प्रतिशतले घटेर रु.६९४ अर्ब ६९ करोड कायम भएको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आयात ३०.५ प्रतिशतले बढेको थियो । तर, पाँच महिनामा कुल वस्तु आयात ४.२ प्रतिशतले घटेर रु.५८१ अर्ब २६ करोड कायम भएको थियो । 

मलेशिया लगायतमा श्रम समस्या भएका कारण विप्रेषण आप्रवाहको अवस्था भने पछिल्ला महिनाहरुमा सुधार हुँदै गएको देखिएको छ । समीक्षा अवधिमा  विप्रेषण आप्रवाह ०.९ प्रतिशतले बृद्धि भई रु.४४७ अर्ब २६ करोड पुगेको छ । अघिल्लो महिना भने विप्रेषण आप्रवाह ०.१ प्रतिशतले बढी रु.३७६ अर्ब ९९ करोडमा सीमित थियो । 

चालु आबको पहिलो ६ महिनासम्ममा शोधनान्तर स्थिति रु.२६ अर्ब ६५ करोडले बचतमा रहेको छ ।

कुल विदेशी विनिमय सञ्चिति रु.१०९५ अर्ब ९८ करोड बराबर कायम भएको छ । उक्त सञ्चिति ८.४ महिनाको वस्तु तथा सेवा आयात धान्न पुग्ने देखिन्छ ।  

पाँच महिनासम्ममा शोधनान्तर स्थिति रु.२३ अर्ब ३० करोडले बचतमा थियो भने कुल विदेशी विनिमय सञ्चिति रु.१०८८ अर्ब ३१ करोड कायम थियो । उक्त सञ्चिति ८.३ महिनाको वस्तु तथा सेवा आयात धान्न पुग्ने अवस्था थियो । 

समीक्षा अवधिमा संघीय सरकारको बैंकिङ्ग कारोबारमा आधारित खर्च रु.३७८ अर्ब १७ करोड र राजस्व परिचालन रु.४८३ अर्ब ७२ करोड रहेको छ । पाँच महिनासम्ममा संघीय सरकारको बैंकिङ्ग कारोबारमा आधारित खर्च रु.२८७ अर्ब ८४ करोड र राजस्व परिचालन रु.३३७ अर्ब ७१ करोडमा सीमित थियो ।