काठमाण्डौ । सेक्युरिटी प्रेस खरीदका लागि स्वीस कम्पनीसँग ७० करोड बढीको डिल गरेको अडियो सार्वजनिक भएपछि सञ्चार तथा सूचनाप्रविधिमन्त्री गोकुल बास्कोटालाई बर्खास्त गर्नुपर्ने माग चौतर्फी उठ्न थालेको छ । 

यही क्रममा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले बास्कोटालाई तत्काल बर्खास्त गर्न माग गर्दै राष्ट्रियसभा बैठक अवरुद्ध गरेको छ ।

सेक्युरिटी प्रिन्टिङ प्रेस खरिदका लागि बास्कोटाले स्वीस कम्पनीका नेपाली एजेन्टसँग ७० करोड रुपैयाँ कमिसनको डिल गरेको अडियो विभिन्न मिडियामार्फत सार्वजनिक भएको थियो । बास्कोटाले बढी कमिसन आउने लोभमा जर्मन कम्पनीसँग प्रेस खरीदको सम्झौता गरेपछि स्वीस एजेन्टको समूह उनीदेखि रिसाई गोप्य अडियो सार्वजनिक गरेको थियो । यो प्रकरणले सामाजिक सञ्जालदेखि सदनसम्मै ठाउँ पाएको छ । 

यो प्रकरण सार्वजनिक भएपछि राष्ट्रियसभाको बिहीबारको बैठक सुरु भएलगत्तै नेपाली कांग्रेसका सांसद जीतेन्द्र देवले संचारमन्त्रीलाई बर्खास्त गरेर तत्काल छानबिन थाल्न सरकारको ध्यानाकर्षण गराए । उनले यो विषयमा प्रधानमन्त्रीले जवाफ दिनुपर्ने माग गरे । 

देवले बोलेपछि कांग्रेसका सांसदहरुले आफ्नो ठाउँबाट उभिएर बैठक अबरुद्ध गरेका थिए । अर्को बैठक फागुन १५ गते बस्ने सूचना टाँस गरी बिहीबारको बैठक स्थगित गरिएको छ ।