-भक्तराज रसाइली 
काठमाण्डौ । सेयर बजारमा बुल रन चलिरहँदा लगानीकर्ताहरुमा खुशियाली, उमङ्ग र उत्सव छाएको छ ।

करिब ३ वर्ष बढीको वियरिस ट्रेण्डका कारण धोती न टोपी भएका लगानीकर्ताहरुलाई केही समयअघिदेखि भने बजारले सरप्राइज दिइरहेको छ ।

पछिल्ला केही दिनको बजारको तथ्यांकलाई हेर्ने हो भने हालसम्मकै नयाँ नयाँ रेकर्डहरु बन्न थालिसकेका छन् । बिहीबार मात्रै सेयर बजारमा एउटा नयाँ इतिहास रचियो । दैनिक कारोबार रकम २ अर्ब ७८ करोड ५० लाख रुपैयाँको उचाईमा पुग्यो, जुन हालसम्मकै सर्वाधिक हो । 

दुई वर्ष अघिको विन्दू ब्रेक गर्र्दै नेप्से परिसूचक १४३४.५४ को विन्दूमा पुगिसकेको छ । तर, आगामी साता यो विन्दूबाट समेत बजार अझै माथि उक्लिने बजारका लगानीकर्ता, विश्लेषक तथा जानकार दाबी गर्छन् । 

अर्थमन्त्री युवराज खतिवडाको त्रासलाई पचाइसकेको नेपालको सेयर बजारका लगानीकर्ताको मनोबल नेपाल धितोपत्र बोर्डका अध्यक्ष भीष्मराज ढुंगानाको सकारात्मक कदमले थप बलियो बन्दै गइरहेको छ। 

बुल रनमा लगानीकर्तालाई पैसा छाप्न भ्याई नभ्याई छ । राम्रा र बलिया स्क्रीप्टहरुमा लगानी गरेर उनीहरुले कुस्त कमाइरहेका छन् । यस्तो दौडधूप र कमाईको माहौल आगामी साता चाहि के होला त ? यो साता झै निरन्तर रहला या बजारको अवस्थामा कुनै परिवर्तन आउला ? हामीले यही विषयमा केन्द्रीत रही बजारसँग सम्बन्धितहरुको धारणा, विश्लेषण तथा प्रक्षेपण बुझ्ने कोशिश गरेका छौ । हेरौं(पढौं) आगामी बजारको विषयमा उनीहरुले प्रस्तुत गरेका प्रक्षेपण:

टंकमणि गौतम(उपाध्यक्ष)-स्टक ब्रोकर्स एशोसिएसन अफ नेपाल
लगानीकर्ताहरुको आत्मविश्वास एकदमै राम्रो देखिन्छ । आगामी साता पनि बजार बढ्न सक्छ ।

रामचन्द्र भट्टराई-आर्यतारा इन्भेष्टमेन्ट एण्ड सेक्युरिटीज प्रालि
भोल्यूम र इण्डेक्सले सपोर्ट गरिरहेकाले आगामी साता इण्डेक्सले झन् नयाँ उचाइ लिनसक्छ । केही समयअघि बेचेर गएका लगानीकर्ताहरु पुनः बजार फर्किएका छन् । सबै लगानीकर्ताहरुमा बुल समाउन ढिला होला कि भन्ने मनोविज्ञान हाबी भएकाले अब बजारले झन् राम्रो सपोर्ट पाउँछ ।

तुलसीराम ढकाल(उपाध्यक्ष)-नेपाल इन्भेष्टर्स फोरम
चार वर्ष अगाडिबाट प्रताडित लगानीकर्ताहरुको आत्मबल बढ्दै गइरहेकाले अब मार्केट नबढी सुखै छैन । मार्केट बढ्नमा कारोबार रकमले समेत सपोर्ट गर्दै आएको छ । सानोतिनो करेक्सन आउनसक्ला, तर हिजोआज इण्ट्राडे करेक्सन भइरहेकाले अन्ततोगत्वा बजार नबढी सुखै छैन ।

ताराप्रसाद फुल्लेल(उपाध्यक्ष)-सेयर लगानीकर्ता संघ
लगानीकर्ताहरुमा आत्मविश्वासको जग र सेयर बजारप्रतिको विश्वास थप बलवान बनिरहेको छ । अर्थमन्त्री र बोर्ड अध्यक्षप्रति आम लगानीकर्ताहरुमा जागेको विश्वासको वातावरणले बजार बढ्ने निश्चित छ । कारोबार रकम करिब ३ अर्ब पुगेको छ, अब यतिले मात्र हुँदैन यो कम भयो । आगामी साता बजार सकारात्मक दिशामा नै जान्छ ।

गोपाल कटुवाल(सचिव)- सेयर लगानीकर्ता दबाब समूह
मार्केट निश्चय नै आगामी साता बढ्छ । आम लगानीकर्ताहरुको मास साइकोलोजी बलियो र सकारात्मक बन्दैछ । करेक्सन पनि इण्ट्राडे नै भइरहेकाले अब बजारले बुलको नयाँ इतिहास रच्न सक्नेछ ।

विष्णु बस्याल-सेयर प्राविधिक विश्लेषक
आइतबार १०–१५ अंक सकारात्मक हुँदै नेप्सेले १४५० को विन्दू चुम्छ, अनि पुनः १४१० आउँछ । निकट समयमा २–३ वटा करेक्सन होला, तर मार्केटले १४५० को विन्दूलाई ब्रेक गर्छ । नेप्से १४५० विन्दू ब्रेक गर्दै सर्टटर्मका लागि १४६० र १४८० विन्दूको रेन्जमा पुग्नसक्छ । एक–डेढ महिनामा नेप्से १३१५ र १३२० का बीच आइसकेपछि मात्र अनि १८८१ को विन्दूलाई रेकर्ड ब्रेक गरेर नयाँ इतिहास रच्नसक्ने देखिन्छ । 

सूकराम पाण्डे, सेयर प्राविधिक विश्लेषक
आगामी साता बजार सकारात्मक हुने देखिन्छ । अब बजारले १४६२ को अवरोधलाई छिचोल्दै १५०२ विन्दू चुम्दैछ ।

टंकराम गौतम, सेयर प्राविधिक विश्लेषक
आगामी साता बजार नेप्से इण्डेक्स पोजिटिभ हुन्छ । अब बजार १४८० को विन्दूतर्फ लम्किसकेको छ, यदि बैंक चलेमा नेप्से इण्डेक्सले इतिहास रच्दै जाने देखिन्छ ।

रोहन सेढाइँ, युवा लगानीकर्ता
बजार परिपक्व हुँदै गएको छ । साना कम्पनीहरु चलाउन सुरु भएकाले बैंकिङ सेक्टर पनि चल्छ । लघुवित्तहरुको भाउ ३–४ हजार पुग्ने मनोविज्ञानले नै बजारमा लघुवित्तहरुको आकर्षण अधिक देखिन्छ।

कमल पन्थी, युवा लगानीकर्ता
बुल ट्रेण्ड समातेको लगभग सुनिश्चित भयो । बीच–बीचमा सानो करेक्सन आए पनि बजार सकारात्मक दिशामा दौडिन्छ । अब नेप्से १५०० विन्दू पुग्नेमा हामी ढुक्क छौं । लगानीकर्ताहरुमा कन्फिडेन्स लेभल बढ्दै गएको छ । अब माइक्रोमा ठूलै छलाङ आउने लगभग पक्कापक्की हो ।