काठमाण्डौ । अर्थमन्त्रीको रुपमा डा. युवराज खतिवडाको निरन्तरता नहुने लगभग निश्चित भएको छ । 

क्याबिनेटमा मन्त्रीको रुपमा रहिरहनका लागि फागुन २० गते सकिँदै गरेको उनको राष्ट्रियसभा सदस्यको पदावधि थपिनुपर्छ । तर, त्यो संभावना अब नरहेपछि उनी अर्थमन्त्रीकै रुपमा निरन्तर नरहने निश्चित देखिएको हो। 

करिब २० महिनाअघिदेखिको कसरतलाई सार्थक बनाउँदै नेकपाका नेताहरु पार्टीका उपाध्यक्ष तथा संगठन विभाग प्रमुख वामदेव गौतमलाई राष्ट्रियसभा सदस्यमा मनोनीत हुने विषयमा सहमत गराउन सफल भएका छन् । यो सफलतासँगै राष्ट्रपतिबाट राष्ट्रियसभा सदस्यमा मनोनीत भई वामदेव गौतम शक्तिशाली उपप्रधानमन्त्रीसहित अर्थमन्त्री हुनेछन् । 

नेकपाको शनिवार बसेको सचिवालय बैठकमा क्याबिनेटको सिफारिसमा राष्ट्रपतिबाट मनोनीत हुने राष्ट्रियसभा सदस्यमा गौतमलाई लैजाने समझदारी बनेको गौतम निकट स्रोतले जनाएको छ । ‘सचिवालयका सबै नेताहरुले उहाँलाई राष्ट्रियसभा सदस्य हुँदै सरकारमा आइदिन र ओलीको अनुपस्थितिमा सरकार संचालन गर्ने खालको प्रभावकारी भूमिका निर्वाह गरिदिन अनुरोध आयो ।’ गौतमको निजी सचिवालयस्थित स्रोतले भन्यो–‘उहाँले पहिलादेखि नै संविधान संसोधन गरी राष्ट्रियसभा सदस्य समेत प्रधानमन्त्री बन्न पाउने व्यवस्था हुनुपर्ने अडान लिइरहनुभएको थियो, उहाँले शनिवार पनि त्यही अडान लिनुभयो ।’ हाल प्रतिनिधिसभा सदस्य मात्र प्रधानमन्त्री बन्नसक्ने संवैधानिक व्यवस्था छ ।  

ती अधिकारीका अनुसार गौतमले अडान लिए पनि सचिवालयका नेताहरुले भोलिका दिनमा संविधान संसोधन गरी गौतमको मुद्धा सम्बोधन गर्न सकिने उल्लेख गर्दै उनलाई प्रधानमन्त्री उपचारका लागि अमेरिका जानुअघि नै वरिष्ठ उपप्रधानमन्त्रीसहित अर्थमन्त्री बनिदिन आग्रह गरेका छन् । ‘उहाँले म सोचेर र साथीहरुसँग सल्लाह गरेर निर्णय दिन्छु भन्नु भएको छ ।’ गौतमको सचिवालयका ती अधिकारीले बिजशालासँग भने–‘तर, समग्र रुपमा उहाँ अब राष्ट्रियसभा सदस्य हूँदै सरकारमा जान तयार हुनुभएको छ । प्रधानमन्त्रीको अनुपस्थितिमा वरिष्ठ उपप्रधानमन्त्रीको रुपमा सरकारको नेतृत्व उहाँले नै सम्हाल्नुहुनेछ ।’ 

प्रधानमन्त्री केपी शर्मा ओली र नेकपाका अध्यक्ष प्रचण्डले संविधान संसोधन गर्ने आश्वासन गौतमलाई शनिवारको सचिवालय बैठकमै दिइसकेका छन् ।

यही विश्वास र भरोसामा उनी सरकारमा सहभागी हुन लागेका हुन् । संविधान संसोधनपछि उनलाई प्रधानमन्त्री बनाउने शीर्ष नेताबीच गोप्य सहमति समेत भएको स्रोतको दाबी छ । 

राष्ट्रपति विद्यादेवी भण्डारीले समेत गौतमलाई सरकारमा सहभागी गराउनुपर्ने विषयमा लगातार दवाब दिइरहेकी छिन् । राष्ट्रपतिले शितल निवासमै बोलाएर गौतमलाई कन्भिन्स गरेका कारण समेत उनी अब राष्ट्रियसभा हुँदै सरकारमा जान तयार बनेका स्रोतको भनाई छ । 

संसदीय निर्वाचनमा बर्दियाको निर्वाचन क्षेत्रनम्बर १ बाट पराजित भएका गौतमलाई अन्तर्घात गरी चुनाव हराइएको थियो । त्यसपछि उनले सम्मानजनक ढंगले संसद तथा सरकारमा प्रवेशको मुद्धा उठाउँदै आएका छन् । पार्टीमा एकपछि अर्को गर्दै शक्तिशाली बनेका गौतमलाई पछिल्लो समय प्रचण्डले समेत प्रधानमन्त्री बनाउन चाहेका छन् । पार्टीभित्रै पनि अल्पमतमा परेका प्रधानमन्त्री ओली समेत पछिल्लो समय गौतमको विषयमा सकारात्मक बन्नुपर्ने अवस्था सिर्जना भएको छ । 

गौतमलाई ओली र प्रचण्डले रविन्द्र अधिकारीको निधनपछि उनको निर्वाचन क्षेत्रबाट उपनिर्वाचन लड्न सुझाव दिएका थिए । तर, फेरि पनि अन्तरघातका कारण जित्न नसक्ने अवस्था देखेपछि उनले त्यसमा मन दिएनन् । 

त्यसअघि डोल्पाका धनबहादुर बुढा र काठमाडौं–८ का रामवीर मानन्धरलाई राजीनामा गर्न लगाएर गौतमलाई चुनावी मैदानमा उतार्नेसम्मको चर्चा समेत राजनीतिक वृतको हटकेक नै बनेको थियो ।

खतिवडाको भविष्य के हुन्छ ?

फागुन २० गतेपछि राष्ट्रियसभा सदस्यको रुपमा निरन्तरता नपाउने भएपछि अर्थमन्त्री डा. युवराज खतिवडा सरकारबाट बाहिरिने छन् । उनले राष्ट्रियसभा सदस्यको रुपमा रहिरहने अनेकन प्रयास गरे पनि ती प्रयासहरु निरर्थक रहे । 

अर्थमन्त्रीको रुपमा नरहने भएपछि उनले अमेरिकाका लागि नेपाली राजदूत बनाइदिन ओलीसमक्ष माग गरिरहेका छन् । तर, यसको संभावना पनि न्यून रहेको स्रोत दाबी गर्छ । ‘पहिला त ओली यो मागप्रति सकारात्मक थिए, तर अब त्यो परिस्थिति समेत बाँकी रहेन ।’ स्रोतले भन्यो–‘पछिल्लो समय ओली खतिवडाको कामप्रति सन्तुष्ट छैनन् र उनैलाई फेरि अर्को अवसर दिने पक्षमा समेत छैनन्।’