काठमाण्डौ । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी(नेकपा)को सचिवालय बैठकले उपाध्यक्ष बामदेव गौतमलाई राष्ट्रियसभा सदस्य बनाउने निर्णय गरेको छ ।

बालुवाटारस्थित प्रधानमन्त्री निवासमा बुधबार बसेको बैठकले गौतमलाई राष्ट्रियसभामा लैजाने निर्णय गरेको हो । योसँगै अब गौतमलाई राष्ट्रपतिबाट राष्ट्रियसभा सदस्य नियुक्ति गर्न मन्त्रिपरिषदको सिफारिस गर्नेछ ।

राष्ट्रियसभा सदस्यको रुपमा गौतम मनोनीत हुने भएसँगै अर्थमन्त्री डा. युवराज खतिवडाको पद नरहने चर्चाले बजार तातेको छ  । तर, नेकपाका शीर्ष नेताबीच बुधबार भएको भित्री सहमति भने अर्थमन्त्रीको रुपमा डा. खतिवडालाई नै निरन्तरता दिने भन्ने छ । 

गौतमलाई राष्ट्रियसभा सदस्य बनाइएपछि अर्थमन्त्रीको राष्ट्रियसभा सदस्य पद फागुन २० गतेदेखि जान्छ । तर, संविधानले उनलाई त्यसपछि ६ महिनासम्मै मन्त्री बन्ने छुट समेत दिएको छ । हाललाई संविधानको यही व्यवस्थामा टेकेर आगामी बजेट पनि डा. खतिवडालाई नै बनाउन दिने र यो बीचमा संविधान संसोधन गरी राष्ट्रपतिको अधिकार थप्ने  राष्ट्रियसभामा मनोनीत सदस्य संख्या ३ बाट बढाएर ९ जना बनाउने  त्यसमा डा. खतिवडाको नाम पनि सिफारिस गर्ने नेकपाको भित्री सहमति रहेको उच्च स्रोतले जनाएको छ । 

सचिवालयका एक नेताले बामदेव गौतमलाई उपप्रधानमन्त्री र प्रधानमन्त्री उपचारका लागि अमेरिका गएपछि ‘कार्यबाहक प्रधानमन्त्री’ बनाउने गरी राष्ट्रियसभामा लैजाने निर्णय भएको हो । प्रधानमन्त्री फागुन महिनाभित्रै उपचारका लागि अमेरिका जाँदैछन् । लामो समयसम्म अमेरिकामा बस्ने प्रधानमन्त्रीको अनुपस्थितिमा कार्यबाहक प्रधानमन्त्रीको रुपमा गौतमले सरकार चलाउनेछन् । 

गौतमले कार्यबाहक प्रधानमन्त्रीको जिम्मेवारी पाएपछि उनकै नेतृत्वमा पुनः संविधान संशोधनको पहल थालिनेछ । सो क्रममा राष्ट्रियसभा सदस्यलाई समेत प्रतिनिधिसभा सदस्यको जस्तै हैसियत कायम गर्ने भन्ने व्यवस्था थप हुनेछ । यो भनेको राष्ट्रियसभा सदस्य पनि प्रधानमन्त्री बन्न पाउने व्यवस्था गर्ने भनिएको हो । 

योसँगै राष्ट्रियसभा सदस्यको संख्यामा ९ जना थप गर्ने गरी संविधान संसोधनको प्रक्रिया अगाडि बढाउने सचिवालयका नेताबीच भित्री सहमति छ । यही बीचमा अर्थमन्त्री डा. खतिवडालाई पुनः राष्ट्रियसभामा सदस्य बनाएर लैजाने र अर्थमन्त्रीको रुपमा ५ वर्षे कार्यकालभरि नै निरन्तरता दिने सहमति बनेको स्रोतको दाबी छ । 

‘गौतमलाई राष्ट्रियसभा सदस्यमा सिफारिस गर्ने निर्णय हुनेबित्तिकै डा. खतिवडाको अर्थमन्त्रीको पद गयो भन्ने भ्रम मात्र हो ।’ स्रोतले भन्यो–‘संविधान संसोधनको अवस्था नै नरहे पनि फागुन २० पछि पनि अर्थमन्त्रीको रुपमा डा. खतिवडा नै रहनेछन् र आगामी बजेट पनि उनैले प्रस्तुत गर्नेछन् ।’ 
फागुन २० गते राष्ट्रियसभा सदस्यको पद गएपछि नैतिकताका आधारमा भने डा. खतिवडाले राजीनामा दिन सक्नेछन् । तर, यसका लागि भन्दा पनि सरकारमै रहे अर्थमन्त्रालयको बागडोर अझै सम्हाल्ने उनको इच्छा रहेकोले नैतिकताका आधारमा उनको राजीनामा आउने कुरा अहिलेका लागि असंभवजस्तै रहेको स्रोत बताउँछ ।