काठमाण्डौ । अर्थमन्त्री डा. युवराज खतिवडाले आज राजीनामा दिएका छन् । 

आज राजीनामा दिएका उनलाई भोलि नै अर्थमन्त्रीमै पुनः नियुक्त गरी सपथ गराउने तयारी सरकारले गरेको छ । 

राष्ट्रियसभा सदस्यको पद फागुन २० गते(आज) सकिएसँगै उनले त्यो हैसियतबाट बनेको अर्थमन्त्रीको पदबाट राजीनामा गरेका हुन् । 

उनलाई भोलि(बुधबार) पुनः अर्थमन्त्रीमा नियुक्त गरिनेछ र सपथ ग्रहण हुनेछ । 

संविधानले प्रतिनिधिसभा तथा राष्ट्रियसभाको सदस्य नरहेको जोसुकै व्यक्तिलाई ६ महिनासम्म मन्त्री बनाउन सकिने छुट दिएको छ । यही व्यवस्थामा टेकेर अर्थमन्त्री डा. खतिवडा दोश्रो कार्यकालका लागि आगामी ६ महिनासम्म पुनः अर्थमन्त्रीमा नियुक्त हुनेछन् । यदि यो बीचमा सत्तारुढ नेकपाका सचिवालयका नेताबीच भएको सहमतिअनुसार राष्ट्रपतिबाट राष्ट्रियसभा सदस्यमा मनोनीत हुनेको संख्या हालको ३ बाट बढेर ९ पुगेको खण्डमा उनलाई पुनः राष्ट्रियसभामा मनोनयन गरी अर्थमन्त्रीकै रुपमा निरन्तरता दिइनेछ । संविधान संसोधनको प्रयास सफल भएन भने चाहि खतिवडाले अर्थमन्त्रीको रुपमा ६ महिना मात्र निरन्तरता पाउनेछन् । 

खतिवडाले अर्थमन्त्रीको रुपमा ६ महिनाका लागि निरन्तरता पाएसँगै राष्ट्रियसभा सदस्यमा मनोनयनका लागि प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीका उपाध्यक्ष वामदेव गौतमको नाम राष्ट्रपति समक्ष सिफारिस गरिसकेका छन् ।