काठमाण्डौ । सुदूरपश्चिम प्रदेश सरकारले स्वास्थ्य क्षेत्रमा एकैपटक ठूलो संख्यामा कर्मचारी पदपूर्ति गर्न बुधबार दरखास्त आह्वान गरेको छ। 

प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयअन्तर्गत स्वास्थ्य निर्देशनालयले प्रदेश मातहतका अस्पताल तथा कार्यालयहरुका लागि स्वास्थ्य सेवामा चौथो तहदेखि नवौँ तहसम्मका लागि १४१ कर्मचारी करारमा पदपूर्ति गर्न दरखास्त खुलाएको हो। निर्देशनालयले विभिन्न पदमा नवौँ तहका ५४ जना, आठौँ तहका २० जना, सातौँ तहमा १७ जना, पाँचौँ तहमा ३३ जना र चौथो तहमा १७ जना कर्मचारी पदपूर्ति गर्न लागेको हो। 

निर्देशनालयले नवौँ तहमा उपस्वास्थ प्रशासकदेखि मेडिकल सुपरिटेन्डेन्ट (मेसु) पदसम्म गरी विभिन्न २२ पदमा दरखास्त खुलाएको छ। त्यस्तै औठौँ तहमा मेडिकल अधिकृत, डेन्टल सर्जन र आयुर्वेद चिकित्सक पदपूर्ति गर्न लागिएको छ। 

निर्देशनालयले सातौँ तहमा भने नर्सिङ अधिकृत, स्वास्थ्य शिक्षा अधिकृत, कम्युनिटी नर्सिङ अधिकृत, मेडिकल टेक्नोलोजिस्ट, फार्मेसी अधिकृत र जनस्वास्थ्य अधिकृत÷इन्टोमोलोजिस्ट पदमा दरखास्त खुलाएको छ। 

पाँचौँ तहमा पनि बायोमडिकल टेक्नेसियनदेखि रेडियोग्राफरलगायत नौवटा पदमा र चौथो तहमा वैद्यदेखि अहेवसम्म ६ पदमा पदपूर्तिका लागि निर्देशनालयले दरखास्त खुलाएको छ। 

इच्छुक उम्मेदवार आजको मितिबाट २१ दिनभित्र स्वास्थ्य निर्देशनालय दिपायल वा प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन् धनगढीमा आवेदन दिनुपर्नेछ। 

अधिकृतस्तरका लागि २१ वर्ष पूरा भएको र सहायक स्तरका लागि १८ वर्ष उमेर पूरा भई ४० वर्ष ननाघेको हुनुपर्नेछ भने महिलाको हकमा ४५ वर्ष ननाघेको हुनुपर्नेछ। 

कर्मचारी छनोट प्रक्रिया अन्तरर्वार्ता विधिबाट गरिनेछ। 

छनोट भएका कर्मचारीको सेवासुविधा नेपाल सरकार तथा सुदूरपश्चिम प्रदेश सरकारको नियमानुसार हुनेछ।