काठमाण्डौ । राष्ट्रबैंकको नेतृत्वले तरलता अभाव तथा समग्र अर्थतन्त्रमा देखिएको समस्याको दोष अरुको टाउकोमा थोपरेर आफूू पानीमाथिको ओभानो बन्ने प्रयास गरेको छ । 

मंगलबार मौद्रिक नीतिको मध्यावधि समीक्षाको क्रममा तरलता अभाव बैंकहरुको कारण भएको भनी दोष थोपरिएको छ भने सरकारले पूँजीगत खर्च गर्न नसकेको, रेमिटान्स घटेको लगायतलाई समेत कारणको रुपमा प्रस्तुत गरिएको छ । राष्ट्रबैंकले आफ्नै कमजोरीप्रति उति सारो समीक्षा गरेको छैन । 

‘चालु आर्थिक वर्षको ६ महिनामा बैंक तथा वित्तीय संस्थाहरुले निक्षेप परिचालन र कर्जा लगानी बीच सन्तुलन मिलाउन नसकेका कारण लगानीयोग्य कोषमा चाप परेको अवस्था छ ।’ समीक्षा गर्दै गभर्नर डा. चिरञ्जिवी नेपालले भने–‘विप्रेषण आप्रवाहको वृद्धिदरमा केही कमी आएको, सरकारको पूँजीगत खर्च अपेक्षित रुपमा बढ्न नसकेको तथा आयात समेत उच्च दरले बढेका कारण बैंकिङ्ग क्षेत्रको लगानीयोग्य कोषमा चाप परेको हो ।’ राष्ट्रबैंकले तोकिएको कर्जा–निक्षेप अनुपात कायम गर्दै कर्जा प्रवाह गर्न बैंक तथा वित्तीय संस्थाहरुले थप निक्षेप परिचालनमा जोड दिनुपर्ने सुुझाएको छ । 

गभर्नर नेपालले बैंकिङ्ग क्षेत्रमा विद्यमान तरलता एवम् लगानीयोग्य कोषको स्थिति लगायत क्षेत्रगत कर्जा प्रवाहको पछिल्लो अवस्थालाई आफूहरुले सुुक्ष्म अनुुगमन गरिरहेको दाबी गरेका छन् । ‘बैंक तथा वित्तीय संस्थाहरुको साधन परिचालनको पछिल्लो प्रवृतिलाई हेर्दा समष्टिगत विवेकशील नियमनका थप उपायहरु अवलम्बन गरी वित्तीय स्थायित्व सुनिश्चित गर्नुपर्ने देखिएको छ ।’ उनले भनेका छन्–‘पछिल्लो समयमा ओभरड्राफ्ट, रियल स्टेट, हायर पर्चेज तथा शेयरको धितोमा प्रवाह भएको कर्जा समेत बढ्दै गएकोले यसबाट उत्पादनशील क्षेत्रमा आवश्यक वित्तीय स्रोतको कमी नहोस् भन्नेतर्पm सजग रहनुपर्ने देखिएको छ ।’

पछिल्लो समय राष्ट्रबैंकले बनाएका राम्रा नीतिहरुको समेत कार्यान्वयन हुन सकेको छैन । कतिपय बैंक तथा बित्तीय संस्थाहरुले राष्ट्रबैंकको नीतिलाई उल्लंघन गर्दा समेत कारबाही गर्न नसकेको भनी असफल गभर्नरको रुपमा चिरञ्जिवी नेपाल आलोचित छन् । उनको कमजोर नेतृत्वकै कारण अर्थतन्त्रमा अनावश्यक समस्याहरु आएका भन्दै व्यवसायी तथा अर्थविदहरुले समेत चिन्ता व्यक्त गर्ने गरेका छन् । राष्ट्रबैंकले गर्न नसकेको काम तथा नियमनको काममा हुने कमजोरीको बिषयमा मध्यावधि समीक्षामा खासै बोलिएको छैन ।