काठमाण्डौ । नेपाल धितोपत्र बोर्ड (सेबोन) ले कोरोना भाइरस रोकथामका लागि उचित उपायहरु अवलम्बन गर्न ब्रोकर हाउसहरुलाई आग्रह गरेको छ। 

कोरोनाभाइरस रोकथाम अभियानअन्तर्गत सरकारले अत्यावश्यक कामबाहेक आवतजावत वा हिँडडुल नगर्न, सार्वजनिक स्थलहरुमा २५ जना भन्दा बढी मानिस भेला नहुन, स्कूल, कलेज, सरकारी, सामूदायिक तथा निजी क्षेत्रका तालिम केन्द्र तथा प्रतिष्ठानहरु एवं निजी क्षेत्र क्षेत्रका शैक्षिक परामर्श केन्द्रहरुबाट सञ्चालित कार्यक्रमहरु बन्द गर्न निर्देशन दिएको छ। सरकारको अभियानमा सहयोग पुर्याउन बोर्डले पनि लगानीकर्ताहरुको भीडभाड हुने ब्रोकर हाउसहरुलाई सर्तकता अपनाउन आग्रह गरेको हो। 

बोर्डले धितोपत्र दलाल व्यवसायीहरुले स्क्रिन एक्जिबिजन रुम बन्द गर्न र कार्यालयमा कर्मचारीबाहेक एकपटकमा पाँचजनाभन्दा बढीको संख्यामा ग्राहकको भिडभाड नहुने व्यवस्था गर्न आग्रह गरेको छ। 

कार्यालयमा कर्मचारी तथा लगानीकर्ता प्रवेश गर्दा हात सफा गर्ने सेनिटाइजर तथा मास्कको प्रयोग र तापक्रम मापन कार्य गर्ने व्यवस्था मिलाउन बोर्डले सुझाव दिएको छ। 

बोर्डले कोरोना भाइरस तथा यसबाट बच्ने उपायहरुसम्बन्धी सूचनामूलक जानकारी प्रवेशद्वारमा राख्न र नोभल कोरोना रोग रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको निर्णयहरु कार्यान्वयन गर्ने व्यवस्था मिलाउने ब्रोकर हाउसहरुलाई आग्रह पनि गरेको छ। 

बोर्डमा बिहीबार धितोपत्र बजार सम्बद्ध विभिन्न पाँच लगानीकर्ता संघले पेश गरेको ज्ञापनपत्र तथा उक्त पाँच लगानीकर्ता संघहरुका प्रतिनिधिहरु, स्टक एक्सचेञ्जका उच्च पदाधिकारीहरु, स्टक ब्रोकर एशोसिएसनका पदाधिकारी र बोर्डका पदाधिकारीहरुबीच कोरोना भाइरसका कारणबाट फैलिएको त्रास र यसवाट विभिन्न आर्थिक गतिविधिहरुमा परेको प्रभाव तथा असर सम्बन्धमा छलफल भएको थियो। 

छलफलपछि कोरोना भाइरस रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको पछिल्लो निर्णय र बजार सम्बद्ध पक्षहरुको हालको परिस्थितिप्रतिको चासो तथा गाम्भीर्यतासमेतलाई ध्यानमा राखेर बोर्डले हाललाई धितोपत्रको दोस्रो बजार कारोबारमा संलग्न पक्षहरुलाई उचित व्यवस्था गर्न गराउन अनुरोध गरेको हो।