काठमाण्डौ । लगानीकर्ताका संघसंगठनको चेतावनीलाई पन्छाउँदै नेपाल स्टक एक्सचेञ्जले कारोबार सुचारु गरेको छ । 

प्रधानमन्त्रीले सम्बोधनमार्फत अत्यावश्यक सेवा सुचारु हुने घोषणा गरेका थिए । विद्युतीय कारोबार पनि अत्यावश्यक सेवाअन्तर्गत पर्ने व्याख्या गर्दै नेप्सेले अनलाइन सेयर कारोबार खुलाएको हो ।  

नेप्सेले आज १०ः३० बजेदेखि प्रिओपन सेसनको कारोबार खुल्ला गरेको थियो । नियमित कारोबार पनि खुल्ला भएको छ । तर, प्रि ओपन सेसनमा ब्रोकर कम्पनीले लग इन नगरेपछि खरीदबिक्री आदेश भने प्रविष्ट हुन सकेको थिएन । स्टक ब्रोकर एशोसिएसनले शनिवार नै एक बैठक बसी आइतबारदेखि सेयर कारोबारमा सहभागी नहुने निर्णय गरेको थियो । त्यसकै प्रभाव आज देखिएको हो । 

नेप्सेका अधिकारीहरुले सरकारबाट औपचारिक निर्देशन नआएको उल्लेख गर्दै विद्युतीय कारोबार अत्यावश्यक सेवामा पर्ने भएकोले अनलाइन कारोबार प्रणाली भने सुचारु गरिएको दाबी गरेका छन् । प्रधानमन्त्रीको सम्बोधनबाट अन्यौल सिर्जना भएको भन्दै नेप्सेका अधिकारीहरु अर्थमन्त्रालयको निर्देशन कुरेर बसेका समेत बताउँछन् । 

नेप्सेले प्रिओपन सेसनको कारोबार सुचारु गरेपछि लगानीकर्ताका पाँचवटै संगठनका अध्यक्ष नेप्सेमा पुगेका थिए । उनीहरु समेत आइतबार बजार खुलाउन दिन सहमत बनेका एक नेताले जानकारी दिए ।

सेमी लकडाउनमा रहेको मुलुकमा सिर्जित नयाँ परिस्थिति लगायतका विषयमा जानकारी दिन नेप्सेले केही बेरपछि पत्रकार सम्मेलन समेत गर्दैछ ।