काठमाण्डौ । नेपाल राष्ट्रबैंकले विद्युतीय माध्यमबाट कारोबार गर्न आह्वान गर्दै ठूलो मूल्यको भुक्तानीका लागि ल्याएको आरटीजिएस कारोबार निःशुल्क गरेको छ । 

केन्द्रीय बैंकको भुक्तानी प्रणाली विभागले आइतबार एक सूचना जारी गर्दै विद्युतीय माध्यमबाट कारोबार गर्न सर्वसाधारणलाई आह्वान गरेको हो । 

उसले ठूलो मूल्यको भुक्तानीका लागि कार्यान्वयनमा ल्याएको आरटीजिएस सिस्टममार्फत कारोबार गर्दा हाल लाग्दै आएको शुल्क चैत १० गतेदेखि अर्को सूचना नआएसम्म नलाग्ने व्यवस्था गरिएको समेत प्रष्ट्याएको छ । 

बैंक तथा वित्तीय संस्था एवम् भुक्तानी सेवा प्रदान गर्ने संस्थाहरुले समेत विद्युतीय भुक्तानीको कारोबारमा शुल्क नलाग्ने व्यवस्था गरिसकेका छन् ।

यसकारण संभव भएसम्म नगद कारोबारको सट्टामा विद्युतीय माध्यमबाट कारोबार गर्न समेत केन्द्रीय बैंकले आह्वान गरेको छ । 

विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरसको संक्रमण न्यूनिकरणको उद्देश्यले राष्ट्रबैंकले विद्युतीय भुक्तानीका उपकरणहरुबाट हुने कारोबारलाई प्राथमिकता दिइरहेको छ । आइतबार नै उसले मोवाइल बैंकिङ तथा डिजिटल वालेटबाट गर्ने कारोबारको सीमा ह्वात्तै बढाएको थियो ।