काठमाण्डौ । धितोपत्र बोर्डको आदेशपछि नेपाल स्टक एक्सचेञ्जले आज(सोमबार)देखि ५ कार्यदिन धितोपत्र कारोबार हुने बजार बन्दको सूचना प्रकाशित गरेको छ । 

नेप्सेकी उपप्रबन्धक प्रवीन पन्दाकले सूचना जारी गर्दै धितोपत्र कारोबार सोमबारदेखि आगामी चैत १७ गतेसम्म बन्द हुने प्रष्ट पारेकी हुन् । 

सो अवधिसम्म धितोपत्र बजारमा भइसकेको कारोबारको राफसाफ र फछ्र्यौट भने हुने सूचनामा उल्लेख छ । 

नेप्सेले आइतबारदेखि नै बजार बन्द गराउनुपर्ने भए पनि धितोपत्र बोर्डको निर्देशन नआएको भन्दै सो दिन कारोबार खुलाएको थियो । त्यसको लगानीकर्ताले तीव्र विरोध जनाएका थिए । 

नेप्सेले निश्चित स्वार्थ समूहलाई फाइदा पुग्ने गरी प्रधानमन्त्रीको सम्बोधनविपरीत बजार खुलाएको भन्दै उनीहरुले अर्थमन्त्रालयमा समेत पुगेर गुनासो गरेका थिए । 

प्रधानमन्त्रीले २ दिनअघि एक सम्बोधन गर्दै अत्यावश्यकीय सेवा बाहेक सबै क्षेत्र १३ दिन लकडाउनको घोषणा गरेका थिए । राजपत्रमा सेयर बजार अत्यावश्यकीय क्षेत्रमा पर्दैन । 

तर, नेप्सेले भने सो सम्बोधनको अपव्याख्या गर्दै विद्युतीय कारोबार अत्यावश्यकीय क्षेत्रमा पर्ने भन्दै अनलाइन प्रणालीबाट हुने कारोबार खुलाएको थियो । 

नेप्सेको यो कदमको सर्वत्र विरोधसँगै अर्थ मन्त्रालयले समेत चासो दिई तत्काल बजार बन्द गराउन निर्देशन दिएपछि धितोपत्र बोर्डले आइतबार साँझ नेप्सेलाई बजार बन्द गराउन आदेश दिएको थियो ।