काठमाण्डौ । प्रतिष्ठित व्यावसायिक घराना भाटभटेनी समूहले प्रत्येक प्रदेशलाई कोरोनाविरोधी अभियानका लागि २५–२५ लाख रुपैयाँ सहयोग गर्ने भएको छ । 
समूहका अध्यक्ष मीनबहादुरले गुरुङ कोरोनाविरोधी अभियान सफल पार्न मुलुकका सातै प्रदेशका सरकारलाई २५–२५ लाख रुपैयाँ आर्थिक सहयोग उपलब्ध गराउने घोषणा गरेका हुन् । भाटभटेनी समूहले एक साताअघि संघीय सरकारद्वारा स्थापित कोरोना रोकथाम तथा नियन्त्रण कोषमा एक करोड रुपैयाँ सहयोग गरेको थियो । 
संघीय सरकारले खडा गरेको कोषमा एक करोड उपलब्ध गराउने घोषणा गरेकै दिन अध्यक्ष गुरुङले आफ्नो समूहको तर्फबाट सहयोग राशी थपिन सक्ने संकेत गरेका थिए । त्यस क्रममा उनले भने , ‘मुलुकमा विपत्ति आउँदा हिजो पनि हामीले सक्दो सहयोग गरेका थियौं, यसपालि पनि त्यसका लागि तयार छौं ।’ सोही प्रतिबद्धता अनुसार यो समूहले थप सहयोग घोषणा गरेको हो । यो सहयोगले प्रदेश सरकारहरुको कोभिड–१९ विरोधी अभियानमा थोरै भए पनि योगदान हुने उनको अपेक्षा छ ।