काठमाण्डौ । जर्मनी लैजान ठिक्क पारिएका दुई लाखवटा मास्क अमेरिकाले डकैती गरेको आरोप लागेको छ। 

ती मास्क अमेरिकातर्फ लगिएपछि 'आधुनिक डकैती' को आरोप लगाइएको हो। बर्लिनको स्थानीय सरकारले अमेरिकामा बनाइएका ती मास्क जफत गरिएको जनाएको छ। बर्लिनको प्रहरीका निम्ति मगाइएका ती एफएफपीटू मास्क गन्तव्य पुग्न पाएनन्।

बीबीसीका अनुसार बर्लिनका आन्तरिक मामिलामन्त्री आन्द्रियास गिजेलले ती मास्क अमेरिकातर्फ लगिएको ठानिएको बताए। मास्क निर्माता अमेरिकी कम्पनी थ्री एमलाई कोरियाली युद्धताका निर्मित कानुनको उपयोग गर्दै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्ना उत्पादन अन्य देशमा निर्यात गर्नबाट प्रतिबन्ध लगाइदिएका थिए।

ट्रम्पले शुक्रबर डिफेन्स प्रोडक्शन एक्ट नामक कानुनको प्रयोग गरेर मेडिकल सामग्रीको आपूर्ति घरेलु माग धान्नकै निम्ति अमेरिकी कम्पनीहरूलाई बाध्य गराइएको बताए। 'ती सामान तत्काल हामीलाई घरेलु प्रयोगलाई चाहिन्छ', ट्रम्पले भने।

ट्रम्पले झन्डै दुई लाख एन९५ रेस्पिरेटर मास्क, एक लाख ३० हजार सर्जिकल मास्क तथा छ लाख पन्जा जफत गरेर अमेरिकी अधिकारीहरूले कब्जामा लिएको बताए। तर ती कहाँ त्यसरी जफत गरिएका हुन् भन्ने उनले खुलाएनन्।

बीबीसीका अनुसार जर्मन मन्त्री गिजेलले त्यसरी बर्लिन ल्याउन लागिएको मास्कलाई अन्यत्र लगिनु आधुनिक डकैती सरह भएको बताए। उनले ट्रम्प प्रशासनलाई व्यापारका नियम मान्न भनेका छन्। 'आफ्ना एट्लान्टिक पारका साझेदारहरूसँग व्यवहार गर्ने यो उपयुक्त शैली होइन। विश्वव्यापी सङ्कटकै बेला पनि यस्ता जबरजस्ती गरिनुहुन्न', उनले भने।