काठमाण्डौ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले विश्व महामारी कोरोनाभाइरसविरुद्ध लड्न सक्ने क्षमता वृद्धि गर्ने हाइड्रोक्सिक्लोरोक्विन औषधि भारतले नपठाएर ठीक नहुने चेतावनी दिएका छन्।

राष्ट्रपति ट्रम्पले सोमबार कोरोनासम्बन्धी आफ्नो ब्रिफिङमा यस्तो चेतावनी दिएका हुन्। ‘ठीक छ भारतले हाइड्रोक्सिक्लोरोक्विन औषधि नपठाओस् तर यसको बदलामा उसले कारबाही भोग्नुपर्छ’, ट्रम्पले भने। 

यद्यपि ट्रम्पले कारबाही कस्तो किसिमको हुने भन्नेबारे भने स्पष्ट खुलाएनन्। ‘मैले आइतबार भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग उक्त औषधि अमेरिका पठाइदिन भनेको थिएँ, उनी सकारात्मक नै थिए’, ट्रम्पले भने, ‘यदि भारतले अमेरिकामा उक्त औषधि आपूर्ति गर्छ भने मलाई धेरै खुसी लाग्नेछ।’ 

यता भारतले भने गत शनिबारदेखि यो औषधि अन्य देशमा निर्यात गर्न रोक लगाएको छ। यो औषधि विशेषगरी मलेरियाका बिरामीलाई दिइन्छ। 

अहिले अमेरिकामा पनि यो औषधिकै माध्यमबाट कोरोना संक्रमित बिरामीको उपचार भइरहेको छ। तर यो औषधि कोरोनाभाइरसविरुद्ध प्रभावकारी औषधि भने होइन। – एजेन्सी