काठमाण्डौ । प्रधानमन्त्री केपी शर्मा ओलीले विदेशबाट फर्किएर पनि क्वारेन्टाइनमा नबसेका नागरिकहरुका कारण कोरोना संक्रमण फैलिनसक्ने चिन्ता व्यक्त गरेका छन् । 

उनले लकडाउनपछि पनि हजारौंको संख्यामा विदेशबाट नेपालीहरु आएका भन्दै तीमध्ये कतिपय क्वारेन्टाइनमा नबसेका र त्यसले चिन्ता थपिएको बताए । 

'त्यस्ता नागरिकहरुलाई मेरो विनम्र अनुरोध छ, तपाई स्वघोषणा गरेर स्थानीय सरकारी निकाय तथा अधिकारीको सम्पर्कमा जानुहोस् ।' ओलीले भने-' तपाईको एउटा गल्ती तपाइकै परिवार, समुदाय र देशकै लागि पनि महंगो पर्न सक्छ ।' 

उनले नेपाल-भारतको सीमामा भारततर्फ २ हजार १४७ नेपाली अड्किएका र उनीहरुलाई क्वारेन्टाइन अवधि पूरा गरेर स्वास्थ्य जाँचपछि मात्र स्वदेश फर्कन आग्रह गरे । 'नेपाल-भारत सीमा नजिक आएका नेपाली दाजुभाई दिदीबहिनीको अप्ठ्यारो र भावना हामीले बुझेका छौ । संक्रमणको जोखिम नियन्त्रणमा अन्तराष्टय सीमा बन्द गर्नुपर्ने हाम्रो बाध्यता हो, तपाईहरुले यसलाई अन्यथा नसोचिदिनुहोला ।' ओलीले भने-'नेपालतर्फको सीमामा पनि ७०० बढी भारतीय नागरिकहरुलाई हामीले क्वारेन्टाइनमा राखेका छौ । लकडाउनलाई प्रभावित नगर्न र संभावित संक्रमणलाई सानो घेरामा राख्नका लागि चालिएको यो उचित कदम हो, यसलाई यही अनुसार बुझ्नुपर्छ ।' 

क्वारेन्टाइन अवधि पूरा गरी स्वास्थ्य परीक्षणपछि सीमामा अड्किएका नागरिकहरुलाई देश भित्र्याइने समेत ओलीले प्रष्ट्याए । 

विदेशमा रहेका नेपालीमा पनि संक्रमण देखा परेको उल्लेख गर्दै उनले नेपाली दूतावासहरु समस्या समाधान र नेपालीको अप्ठ्यारो सहज पार्न क्रियाशील रहेका दाबी गरे । 

गैरआवासीय नेपाली संघ लगायत सामुदायिक संघसंस्थाले पनि सक्दो सहयोग गरिरहेका उल्लखे गर्दै विदेशमा बस्ने नेपालीहरुको विषयमा राष्ट्रपतिले समेत जानकारी लिइरहेको उनले सुनाए । 

ठूलो संख्यामा नेपाली बसोबास गरिरहेका कतिपय मुलुकका प्रधानमन्त्रीसँग आफूले टेलिफोन संवाद पनि थालिसकेको जानकारी दिंदै उनले थपे-' संकटको बेला हामी जहाँ छौ, त्यही सुरक्षित बसौं । सबैको सहयोग र धैर्यपछि मात्रै संकटको कालो बादल हटेर जानेछ ।' 

उनले नेपालमा रहेका विदेशी नगारिकको सरकारले सक्दो हेरचाह गरेको उल्लेख गर्दै असहज घडीमा विदेशमा रहेका नेपालीहरुले पनि विदेशका सरकारहरुबाट यस्तै माया र सद्भाव पाउने आशा व्यक्त गरेका छन् ।