काठमाण्डौ । अमेरिकापछि अब अस्ट्रेलियाले पनि वर्किङ भिजाको प्रावधान कडा बनाउने घोषणा गरेको छ । 

अस्ट्रेलियाका इमीग्रेसन मन्त्री पिटर डटनलाई उद्धृत गर्दै अन्तराष्ट्रिय संचारमाध्यमहरुले जनाएअनुसार फास्ट फूड इण्डस्ट्रिजमा विदेशी कामदारहरुलाई भिजा दिने प्रक्रिया अब बन्द गरिनेछ । 

यो निर्णयबाट लाखौै प्रवासी कामदारहरु प्रभावित हुनेछन् । अस्ट्रेलियाका फास्ट फूड उद्योगमा काम गरिरहेका सयौं नेपालीहरुलाई समेत नयाँ नीतिको नकारात्मक प्रभाव पर्नेछ । यो नीतिको सबैभन्दा ठूलो असर भारतलाई हुनेछ, कारण अस्ट्रेलियामा वर्किङ भिजा पाउने कुल प्रवासीमध्ये एक चौथाई भारतीय छन् । 

पिटर डटनले अस्ट्रेलियाली नागरिकहरुको रोजगार सुरक्षित गर्नका लागि यस्तो घोषणा गरिएको प्रष्ट्याएका छन् । सन् २०१२ देखि अहिलेसम्म मेकडोनल्ड्स, केएफसी तथा हंग्री जेक्स जस्ता कम्पनीहरुमा ५ सय विदेशी कामदारहरुलाई वर्किङ भिजा दिइएको  थियो । 

डटनले अब त्यस्ता कम्पनीहरुले स्वदेशकै नौजवानहरुलाई रोजगारीमा पहिलो प्राथमिकता दिइनेछ । तर, विशेष परिस्थितिको अवस्थामा भने यो भिजालाई कायमै राखिनेछ । 

सरकारी तथ्यांक अनुसार सन् २०१४ सम्म अस्ट्रेलियामा वर्किङ भिजामा  ९५ हजार ७ सय ५८ प्रवासी रहेका थिए भने यो संख्या सन् २०१५ मा आइपुुग्दा १ लाख ३ हजार ८ सय ६२ रहेको थियो। 

यसमा सर्वाधिक २४.६ प्रतिशत भारतीय, १९.५ ब्रिटेन, ५.८ प्रतिशत चीनका र बाँकी नेपालसहित अन्य देशका कामदार रहेका छन् । 

सन् २०१२ मा विपक्षी लेबर पार्टी सत्तामा रहेको अवस्थामा एक सम्झौतामार्फत फास्ट फूड उद्योगमा विदेशी कामदारलाई वर्किङ भिजा दिन थालिएको थियो । यही कारण लेबर पार्टीका रोजगार प्रवक्ता ब्रेन्डन ओ कानरले सरकारको यो निर्णयप्रति प्रश्न उठाएका छन् ।