काठमाण्डौ । काठमाण्डौका ठूला होटलहरु आगामी असोजसम्म बन्द हुने भएका छन् । 

होटल संघ नेपालले बैशाख १ गतेदेखि लागू हुने गरी ६ महिनाका लागि होटल बन्द गर्ने निर्णय गरेको हो । 

कोरोना भाइरसको संक्रमणका कारण सबैभन्दा धेरै प्रभावित भएको क्षेत्र पर्यटन हो । यसमा पनि विदेशी पाहुनाहरुका कारण चलेका तारे होटलहरु नेपालमा तत्काल लकडाउन खुले पनि चल्ने अवस्थामा हुँदैनन् । यिनै कारणहरु दर्शाउँदै आइतबार संघकी अध्यक्ष सिर्जना राणाको अध्यक्षतामा बसेको बैठकले असोज मसान्तसम्म होटल बन्द गर्ने निर्णय गरेको हो । 

बैठकपछि संघले एक विज्ञप्ति जारी गर्दै होटल बन्दको निर्णय सार्वजनिक गरेको हो । 

संघको यो निर्णयप्रति काठमाण्डौका प्राय सबै तारे होटलका संचालकहरुको सहमति रहेको बताइएको छ । 

संघको बैठकले आफ्ना कर्मचारीलाई होटल बन्द हुने ६ महिनासमम्म आधारभूत तलबको १२.५ प्रतिशतका दरले हुन आउने रकम मात्रै दिने निर्णय पनि गरेको छ । 

होटलहरुले यो निर्णयको विषयमा आफ्ना युनियनहरुसँग सहमतिको प्रयास गर्ने र त्यसमा श्रमिक तथा कर्मचारी सहमत नभए आंशिक वा पूर्ण रुपमा कर्मचारी कटौति गरिने समेत प्रष्ट पारेका छन् । आफ्नो निर्णयप्रति असहमत कर्मचारीलाई श्रम ऐन २०७४ को दफा १४५ बमोजिम कटौतिको प्रक्रिया थाल्दै सूचना दिएर आंशिक वा पूर्ण रुपमा कर्मचारी कटौती गरिने निर्णयमा उल्लेख छ।

साथै आधारभूत तलबको १२.५ प्रतिशतमा सरकारले थप गरी तलब भुक्तानी गर्न जब रिटेन्सन फण्डको व्यवस्था गर्न होटल संघ र ट्रेड युनियनले संयुक्त रुपमा सरकारसँग पहल गर्ने निर्णय पनि भएको छ ।