काठमाण्डौ । फ्रान्सको उपवित्त मन्त्री एग्नस पैनिए रुनाशरले फ्रान्सको औषधि कम्पनी सेनोफीमा विकास गर्ने काम भइरहेको कोरोनाभाइरसविरुद्धको भ्याक्सिन सफल भएमा वितरणको सुरुआती चरणमा अमेरिकालाई प्राथमिक दिइने कुराको कडा विरोध गरेका छन्।

मन्त्री रुनाशर यदि सेनोफीले यो भ्याक्सिन तयार गर्यो र सुरुआती प्राथमिकता अमेरिकी बजारलाई दियो भने त्यो कुनै पनि हालतमा मान्य नहुने चेतावनी दिएका हुन्। उनले यसअघि सेनोफीका सीईओ पल हडसनले भ्याक्सिन वितरण विषयमा दिएको प्रतिक्रियाको यसरी कडा आलोचना गरेका हुन्। 

सीईओ हडसनले यदि सेनोफी भ्याक्सिन बनाउन सफल भयो भने सबैभन्दा बढी प्रि–अर्डर अमेरिका सरकारबाट आएकोले त्यहीँको बजारले प्राथमिकता पाउने बताएका थिए। ‘किनकि अमेरिकाले यो भाइरसविरुद्धको भ्याक्सिन बनाउने काममा लगानी गरेको छ’, उनले भनेका थिए। 

अमेरिकाको डिपार्टमेन्ट अफ हेल्थ एन्ड ह्युमन सर्भिसले सेनोफीमा यो भ्याक्सिन विकासका लागि ३ करोड डलर लगानी गरेको छ। सेनोफीमा अमेरिकाकै यूए बायोमेडिकल एडभान्स्ड रिसर्स एन्ड डेभलपमेन्ट अथरिटीले पनि लगानी गरेको छ। 

सेनोफीको यो प्रोजेक्टमा फ्रान्स सरकारले सहायता गर्न लाखौँ युरोको कर छुट दिएको छ। यो कम्पनील ब्रिटिस कम्पनी ग्ल्याक्सोस्मिथक्लाइनसँग मिलेर भ्याक्सिन बनाउने सम्झौता पनि गरेको छ। –एजेन्सी