काठमाण्डौ । काठमाण्डौ महानगरपालिकाका ३१ जना सरसफाइ गर्ने कर्मचारीको आरडिटी रिपोर्ट पोजेटिभ देखिएको छ । 

ती सफाई कर्मचारीको टेकूस्थित केन्द्रीय प्रयोगशालामा गरिएको र्यापिड डाइग्नोष्टिक टेस्ट(आरडिटी) गर्दा रिपोर्ट पोजिटिभ आएको हो । 

टेकूस्थित केन्द्रीय प्रयोगशाला स्रोतका अनुसार आरडिटी रिपोर्ट पोजेटिभ देखिएकामध्ये १६ पुरुष र १५ जना महिला छन् । यीमध्ये फोहोर उठाउने गाडी कुदाउने चालकहरु समेत छन् । 

महानगरपालिकाका अनुसार अहिले उनीहरूलाई महानगरपालिकाको वातावरण भवनको क्वारेन्टाइनमा राखिएको छ। उनीहरूको पीसीआर परीक्षणका लागि थ्रोट स्वाब संकलन गरिसकिएको छ । 

सरकारले पछिल्लो समय काठमाण्डौमा समेत तीव्र गतिमा कोरोना टेस्ट गरिरहेको छ । पहिलो चरणमा १० हजार उपत्यकाबासीको परीक्षणको योजना बनाइएको छ । 

धेरै जनसंख्या भएको र लकडाउनकै बीचमा विभिन्न जोखिमपूर्ण जिल्लाबाट लुकिछिपी काठमाण्डौ आउनेको संख्या बढेका कारण यहाँ पनि कोरोना संक्रमण फैलिएको आशंकामा धमाधम परीक्षण भइरहेको छ । 

पहिलो चरणमा सरकारले बढी भीडभाड हुने र धेरै मानिसको सम्पर्कमा जानुपर्ने काममा संलग्नहरुको परीक्षण थालेको हो । यही क्रममा बिहीबार मात्रै कालिमाटी तरकारी बजारमा ७ सय बढीको परीक्षण गरिएको थियो । 

शुक्रबार टेकु अस्पतालमा महानगरपालिकाका सरसफाईमा खटिने ९ सय ३२ जना कर्मचारीको स्वास्थ्य परीक्षण गरिएको छ । योमध्ये ६ सय ६४ जनको र्यापिड टेस्ट र २ सय ६८ जनाको पिसिआर परीक्षण गरिएको हो। सबैको रिपोर्ट आइसकेको छैन ।