काठमाण्डौ । शुक्रबार नेपालमा कोरोना संक्रमितको संख्या पुनः बढेको छ । 

यो दिन काठमाण्डौसहित देशका विभिन्न जिल्लामा ९ जना संक्रमित थपिएका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । 

मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीका अनुसार टेकूस्थित राष्टिय जनस्वास्थ्य प्रयोगशाला, धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान र नेपालगञ्जस्थित भेरी अस्पतालका ल्याबहरुमा गरिएको पीसीआर परीक्षणको क्रममा थप ९ जनामा संक्रमण पुष्टि भएको हो । 

योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या २६७ पुगेको छ । 

थपिएका संक्रमितहरुमा वीरगञ्जका ९ र १० वर्षका बालक तथा २३ र ४७ वर्षीया महिलासहित ४ जना, उदयपुरको त्रियुगा नगरपालिकाका एक २५ वर्षीय पुरुष, दाङको गढवा ४ र ५ तथा तुल्सीपुर ७ निवासी २३, ३६ र ३४ वर्षीय पुरुषहरु रहेका छन् । 

यसैगरी, काठमाण्डौको सतुंगल निवासी ७ वर्षीय बालकमा पनि कोरोना संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ ।