काठमाण्डौ । नेपालको शेयर बजारलाई बिना सुधार यथास्थितिमा खोल्दा पुँजीबजारमा करिब १७ लाख डिम्याटमा आबद्ध लगानीकर्ताको सम्पत्ति ठूलो मात्रामा गुम्नसक्ने भन्दै लगानीकर्ताका संघसंगठनले बजार सुधारका लागि २० बुँदे सुझाव नियामक धितोपत्र बोर्डमा पेश गरेका छन् । 

आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा बोर्डले गर्नसक्ने काम र बोर्डमार्फत अर्थमन्त्रालयलाई दिइनुपर्ने सुझाव लगायतका विषयमा लगानीकर्ताहरुले आफ्ना २० बुँदा पेश गरेका हुन् । 

लगानीकर्ताहरुले हाल सेयर मार्जिन कर्जाको सीमा ६५ प्रतिशतलाई बढाएर ८० प्रतिशत कायम गर्नुपर्ने र वेटेड एभरेज गणना गरिने प्रक्रिया १८० दिनको सट्टामा १२० दिन कायम गरिनुपर्ने माग गरेका छन् । 

यस्तै,  शेयर कर्जा लिएका ऋणिहरूको कर्जाको म्याद समाप्त भएको भए स्वतः नविकरण गरी मार्जिन कल नगर्ने व्यवस्था हुनुपर्ने,  हाल प्रचलनमा रहेको क्रस होल्ड नहुने गरी शेयर खरिद गर्न पाउने बैंक तथा वित्तीय संस्था र ईन्स्युरेन्स कम्पनीहरूको लगानी गर्न पाउने सीमा सतप्रतिशत वृद्धि गरिनुपर्ने, बैंक तथा वित्तीय संस्थाले प्रवाह गर्ने शेयर धितो कर्जाको प्राथमिक पुँजिकोषको सीमा पनि सत्प्रतिशत नै वृद्धि गरिनुपर्ने माग गरेका छन् । 

यस्तै, म्युचुअल फण्डहरूले शेयर बजारमा लगानी गर्नुपर्ने सीमा अनिवार्य व्यवस्था गरिनुपर्ने र उक्त फण्डहरूलाई दिईँदै आएको आरक्षण वापत छुट्याईएको शेयरमा कम्तीमा ३ वर्षको लकिंग पिरियड राखिनुपर्ने पनि लगानीकर्ताको माग छ । 

यसैगरी, नेपालको पुँजिवजारलाई अत्याधुनिक प्रविधिमैत्री बनाउन पूर्ण स्वचालित अनलाइन प्रणालीको तत्काल कार्यान्वयन हुनुपर्ने, धितोपत्र बोर्डद्वारा लकडाउन अवधिमा जारी गरिएको धितोपत्र संचालन सम्बन्धी कतिपय बुँदाहरू व्यवहारिक रूपमा कार्यान्वयनमा ल्याउन बाधा भएकोले त्यस्ता बुँदाहरूलाई सहज हुनेगरी परिमार्जन गरिनुपर्ने, डिम्याट र बैंक ईन्ट्रिगेशन सम्बन्धी कार्य गरिनुपर्ने, शेयर बजारमा नेपाल सरकारले यो भन्दा अगाडि नै निर्णय गरिसकिएको ठूलो मात्रामा लगानी गर्नसक्ने संस्था नागरिक लगानीकोषलाई यथाशीघ्र बजारमा प्रवेश गराउनुपर्ने लगायतका सुझाव समेत पेश गरेका छन् । 

बोर्डलाई लगानीकर्ताको तर्फबाट नेपाल इन्भेष्टर्स फोरम, सेयर लगानीकर्ता संघ नेपाल, सेयर लगानीकर्ता दवाब समूह र नेपाल पूँजीबजार संघको तर्फबाट जेठ ५ गते संयुक्त रुपमा सुझावहरु पेश गरिएको सेयर लगानीकर्ता संघका उपाध्यक्ष ताराप्रसाद फूल्लेलले जानकारी दिए । 

लगानीकर्ताले राखेका माग तथा बुझाएका २० बुँदे सुझाव यस्ता छन्:

१) नेपालको पुँजिवजारलाई अत्याधुनिक प्रविधि मैत्रि बनाउन पुर्ण स्वचालित अनलाईन प्रणालिको तत्काल कार्यान्वयन गर्ने ।
२) नेपाल धितोपत्र वोर्ड द्वारा लकडाउन अवधिमा जारी गरिएको धितोपत्र सन्चालन सम्वन्धि कतिपय बुँदाहरू व्यवहारिक रूपमा कार्यान्वयनमा ल्याउन वाधा भएकोले त्यस्ता बुँदाहरूलाई सहज हुनेगरी परिमार्जन गरिनु पर्ने ।
३) डिम्याट र बैंक ईन्ट्रिगेशन सम्बन्धि कार्य गरिनुपर्ने ।
४) शेयर वजारमा नेपाल सरकारले यो भन्दा अगाडिनै निर्णय गरि सकिएको ठुलो मात्रामा लगानि गर्न सक्ने संस्था नागरिक लगानि कोष लाई यथासिघ्र वजारमा प्रवेश गराउनु पर्ने ।
५) हाल शेयर मार्जिन कर्जामा उपभोग गरिंदै आएको ६५% को सिमालाई बढाई ८०% कायम गर्ने र  Weighted Average गणना गरिने प्रकृया १८० दिनको सट्टामा १२० दिन कायम गरिनु पर्ने ।
६) शेयर कर्जा लिएका ऋणिहरूको कर्जाको म्याद समाप्त भएको भए स्वत: नविकरण गरि मार्जिन कल नगर्ने व्यवस्था गर्ने ।
७) हाल प्रचलनमा रहेको क्रस होल्ड नहुने गरि शेयर खरिद गर्न पाउने बैंक तथा वित्तीय संस्था र ईन्स्युरेन्स कम्पनीहरूको लगानि गर्न पाउने सिमा सत प्रतिशत बृध्दि गरिनु पर्ने ।
८) बैंक तथा वित्तीय संस्थाले प्रवाह गर्ने शेयर धितो कर्जाको प्राथमिक पुँजिकोषको सिमा सत प्रतिशत बृध्दि गरिनुपर्ने ।
९) म्युचुअल फण्डहरूले शेयर बजारमा लगानि गर्नुपर्ने सिमा अनिवार्य व्यवस्था गरिनुपर्ने र उक्त फण्डहरूलाई दिईँदै आएको आरक्षण वापत छुट्याईएको शेयरमा कम्तिमा ३ वर्षको लकिंग पिरियड राखिनुपर्ने ।
१०) पुँजिवजारको विकास र विस्तारका लागि लगानिकर्ताहरू संग सरकारले गरेको ५८ बुँदे सहमतिमा उल्लेख भएका बुँदाहरू मध्ये कार्यान्वयनमा आउन बाँकि बुँदाहरू तत्काल कार्यान्वयन गरिनुपर्ने ।
११) शेयर वजार सम्वन्धमा कुनै पनि निर्णय गर्दा लगानिकर्ताहरूका प्रतिनिधिहरू समेतको प्रतिनिधित्व हुने व्यवस्था गरिनुपर्ने ।
१२) हाल प्रचलनमा रहेको ५% लाभकरलाई अन्तिम लाभकर घोषणा गरिनुपर्ने ।
१३) शेयर वजारका लगानिकर्ताहरूलाई अल्पकालिन र दीर्घकालीन श्रेणीमा वर्गीकरण गरी दीर्घकालीन लगानिकर्ताहरूलाई पुँजिगत लाभकर छुटको व्यवस्था गरिनुपर्ने र संस्थागत लगानिकर्ताहरूलाई पुँजिवजारमा थप आकर्षित गर्न संस्थागत पुँजिगत लाभकर समेत कम गर्नुपर्ने ।
१४) बैंक तथा वित्तीय संस्था,नागरिक लगानि कोष,कर्मचारी संचय कोष,नेपाल टेलिकम,विमा कम्पनी,पेन्सन फण्ड तथा सामाजिक सुरक्षा कोष लगायतका कम्पनिहरूलाई दोश्रो वजारमा लगानि गर्न आवश्यक र आकर्षक वातावरण बनाई लगानि गर्न लगाउने ।
१५) गैर आवासिय नेपालीहरू तथा विदेशमा रोजगारीमा गएका नेपालीहरूले शेयर कारोवार गर्न पाउने विश्वव्यापी प्रचलन अनुरूप नेपालमा पनि २०६५ साल देखि धितोपत्र वोर्ड समेतको कार्य सुचिमा रहेको विषय हालसम्म पनि कार्यान्वयन नभएको/नगराईएकोले तत्काल कार्यान्वयन गर्नुपर्ने ।
१६) हाल संचालनमा रहेका बैंक तथा वित्तीय संस्थाहरूको करिव ३ हजार शाखाहरू मार्फत शेयर कारोवार गराउने गरी वाणिज्य बैंकका सहायक कम्पनिहरूलाई ब्रोकर लाईसेन्स तत्काल उपलब्ध गराउनुपर्ने ।
१७) मर्जर वा एक्विजिसन गर्दा लाग्ने समयको स्पष्ट निर्धारण गर्ने र सकेसम्म शेयर कारोवार नरोक्ने,तर रोक्नै परेमा बढिमा ४५ दिनको सिमा निर्धारण गर्ने ।
१८) स्टक एक्सचेंजमा कारोवार हुने कम्पनिहरूले निश्चित सर्त र सिमाको अधिनमा रहि आफ्नो कम्पनिको शेयर आफैले खरिद गर्न पाउने व्यवस्था गर्ने ।
१९) हाल विधमान नियममा रहेको वोनसमा लाग्दै आएको दोहोरो पुँजिगत लाभकरको व्यवस्था तुरून्तै खारेज गरिनुपर्ने ।
२०) पुँजिवजारमा एकद्वार प्रणालि (One door policy) अवलम्बन गर्दै यो क्षेत्रको विकास र विस्तारको लागि पंचवर्षीय योजना सार्वजनिक गरिनुपर्ने ।