काठमाण्डौ । पूर्वराजाको तस्विर अंकित भएका नोटहरु चलनचल्तीका लागि अयोग्य हुने भएका छन् । त्यस्ता नोटहरुलाई पुनः निश्कासन अयोग्य नोटको रुपमा वर्गीकरण गर्न र चलनचल्तीका लागि नपठाउन केन्द्रीय बैंकले बैंक तथा वित्तीय संस्थाहरुलाई निर्देशन दिएको छ । 

राष्ट्रबैंकको मुद्रा व्यवस्थापन विभागले आइतबार एक सर्कुलर जारी गर्दै बैंक तथा वित्तीय संस्थाहरुले नोटहरुलाई तीन समूहमा वर्गीकरण गरी सफा नोट मात्र चलनचल्तीमा ल्याउन समेत निर्देशन दिएको छ । 

बैंक तथा वित्तीय संस्थाहरुले आफ्नो संस्थामा प्राप्त हुन आएका नोटहरुलाई एटीएम लगायतका मेशिनहरुको माध्यमबाट चलनचल्तीमा पठाउन योग्य, काउण्टरबाट भुक्तानी गरी चलनचल्तीमा पठाउन योग्य र चलनचल्तीमा पठाउन अयोग्य गरी तीन वर्गमा छुट्याउनुपर्नेछ । 

एटीएम लगायतका मेसिनहरुको माध्यमबाट चलनचल्तीमा पठाउन योग्य नोटको प्याकेटमा हरियो रंगको स्लिप प्रयोग गर्न समेत निर्देशन दिइएको छ । 
यस्तै, काउण्टरबाट भुक्तानी गरी चलनचल्तीमा पठाउन योग्य नोटको प्याकेटमा सेतो रंगको स्लिप प्रयोग गर्नुपर्नेछ । 

यसैगरी, चलनचल्तीमा पठाउन अयोग्य नोटको प्याकेटमा रातो रंगको स्लिप प्रयोग गर्न केन्द्रीय बैंकले निर्देशन दिएको छ । 

तीन खालका नोटहरुमा स्लिप प्रयोग गर्दा बैंक तथा वित्तीय संस्थाको नाम, कार्यालय वा शाखाको नाम तथा छाप, नोट गन्ती गर्ने कर्मचारीको नाम, कर्मचारीको परिचयपत्र नम्बर, सही, र मिति सम्बन्धी विवरण समेत अनिवार्य रुपमा हुनुपर्ने नियम समेत लागू गरिएको छ । 

नोटमा स्टीच प्रयोग नगर्न समेत केन्द्रीय बैंकले पुरानो सर्कुलरलाई पुनः दोहोर्याएको छ । नोटमा आवश्यकता अनुसार रबर, प्लाष्टिक, पेपर बैण्ड प्रयोग गर्न, नोटमा नलेख्न, केरमेट नगर्न र हिफाजत गर्न गराउने व्यवस्था मिलाउन समेत सर्कुलरमा भनिएको छ । 

झुत्रिएको, मक्किएको, जलेको, गलेको, लुलो भएको, किराले खाएको, पानीले भिजेको, छपाई बिग्रेको, नोटमा रहेका अक्षर, अंक, चित्र तथा सुरक्षण विशेषताहरु नबुझिने वा बिग्रने गरी रंग लागेको, लेखिएको, कोरिएको, मेटिएको, च्यातिएको नोटलाई पुनः निश्कासन अयोग्य नोटको रुपमा वर्गीकरण गर्न समेत निर्देशन दिइएको छ । त्यस्ता नोटलाई चलनचल्तीका लागि नपठाउन समेत केन्द्रीय बैंकले भनेको छ । 

केन्द्रीय बैंकले चलनचल्तीमा पठाउन योग्य नोटहरु मात्र सटही गर्न वा भुक्तानी गर्ने व्यवस्था मिलाउन पनि भनेको छ । यसरी भुक्तानी वा सटही गर्नुपूर्व नोटलाई निश्चित प्रक्रिया अपनाई जिवाणु वा भाइरससहित बनाउन समेत भनिएको छ । 

नोट राख्ने दराज, फर्निचर, भल्ट, नोट ओसारपोसार गर्ने सामाग्री सफा हुनुपर्ने, साथै नोट भण्डारण गर्ने ढुकुटी र कारोबार गर्ने कक्षहरुमा यथोचित प्रकाश एवम् हावा लाग्ने गरी फ्यानको प्रयोग गर्न समेत भनिएको छ ।