काठमाण्डौ । विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) ले औलोविरुद्ध प्रयोग गरिने औषधि हाइड्रोक्सिक्लोरोक्विनलाई कोरोना संक्रमितको सम्भावित उपचारमा प्रयोग गर्न परीक्षण गर्ने काम हाललाई सुरक्षाको त्रासका कारण रोकेको छ।

डब्ल्यूएचओले थुप्रै देशमा भइरहेको परीक्षण सावधानीका लागि भन्दै ुअस्थायी रूपमाु रोकिएको जनाएको हो। हालैको एउटा चिकित्सा अध्ययनले उक्त औषधिको प्रयोगले कोरोना संक्रमित बिरामीको मृत्यु हुने जोखिम बढाउने सुझाएको पृष्ठभूमिमा डब्ल्यूएचओले यस्तो निर्णय लिएको हो। 

गत साता मेडिकल जर्नल द ल्यान्सेटमा प्रकाशित एउटा अध्ययनमा हाइड्रोक्सिक्लोरोक्विनलाई कोरोना संक्रमित बिरामीको उपचारमा प्रयोग गर्नुको कुनै फाइदा नभएको जनाइएको थियो। यसले भाइरसका कारण बिरामी परेकाहरूको मृत्युको सङ्ख्या बढाउन सक्ने अध्ययनमा जनाइएको थियो।

डब्ल्यूएचओको आपत्कालीन कार्यक्रम प्रमुख माइक रायनले आफूहरूको यो निर्णय कुनै समस्यासँग जोडिएर नभएको बताए। उनले भने, 'विश्वभरि भइरहेका सोलिडारिटी ट्रायलमा कुनै समस्याका संकेत पनि छैनन्। तैपनि हालैको एक अध्ययनलाई आधार मानेर हामीले सावधानी अपनाएका हौँ।'

केही दिनअघि अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले हालै भाइरसबाट बच्न उक्त औषधिको प्रयोग गरिरहेको जनाएका थिए। उनले कोरोनाको उपचारमा यस औषधि 'गेम चेन्ज' हुने भन्दै त्यसले अवस्था फेरिदिने बताउँदै आएका थिए।

सार्वजनिक स्वास्थ्य अधिकारीहरूले भाइरस सङ्क्रमितमा उक्त औषधिले मुटुमा समस्या ल्याउनसक्ने चेतावनी दिँदै त्यसबारे स्पष्ट नबोले पनि ट्रम्पले भने बारम्बार उक्त औषधिको प्रवर्द्धन हुनेगरि बोलेका थिए। – बीबीसी