काठमाण्डौ । अमेरिकी बायोटेक कम्पनी नोवाभ्याक्सले कोरोनाभाइरसविरुद्धको भ्याक्सिन अस्ट्रेलियामा ह्युमन ट्रायल (मानवमा परीक्षण) सुरु गर्ने घोषणा गरेको छ।

यो कम्पनीले यो वर्षको अन्त्यसम्म भ्याक्सिन विकास गर्ने लक्ष्यका साथ काम गरिरहेको छ। कम्पनीका अनुसन्धान प्रमुख डा ग्रेगरी ग्लेनले कम्पनीले भ्याक्सिन ट्रायलको पहिलो चरण सुरु गरिसकेको बताए। उनका अनुसार अब यो भ्याक्सिन मानिसमा परीक्षण गरिनेछ। जसअन्तर्गत मेलबर्न र ब्रिस्बेनमा १३१ जना स्वयंसेवकमा यो भ्याक्सिनको परीक्षण गरिने डा ग्लेनले बताए। 

यो परीक्षणका क्रममा भ्याक्सिनको सुरक्षा र प्रभावकारिताको सुरुआती संकेतका बारेमा पत्ता लगाउने कोसिस हुने पनि डा ग्लेनले जानकारी दिए। 

नोवाभ्याक्सको मुख्यालय मेरील्यान्डबाट मंगलबार मेलबोर्नमा एउटा भर्चुअल प्रेस कन्फ्रेन्सलाई सम्बोधन गर्दै डा ग्लेनले भने, ‘हामी भ्याक्सिन बनाउनुका साथसाथै यसको डोज पनि तयार गर्ने काममा लागिरहेका छौँ। हामीलाई विश्वास छ कि हामीले विकास गरेको भ्याक्सिन कोरोनाविरुद्ध काम गर्नेछ। यो वर्षको अन्त्यसम्म भ्याक्सिन विकास गरिसक्ने र बिरामीसम्म पहुँच पुर्याउने कोसिस गर्नेछौँ।’

समाचार एजेन्सी एपीका अनुुसार लगभग एक दर्जन प्रायोगिक भ्याक्सिनको टेस्टिङ सुरुआती चरणमा वा परीक्षण सुरु भइसकेका छन्। जसमा धेरैजसो भ्याक्सिन चीन, अमेरिका र युरोपमा विकास गर्ने काम भइरहेका छन्। – एजेन्सी