काठमाण्डौ । क्यान्सरपीडित कोरोना संक्रमित बिरामीका लागि हाइड्रोक्सिक्लोरोक्विन औषधि खतरनाक हुन सक्ने एक अध्ययनले देखाएको छ।

अमेरिकी शोधकर्ताहरुका अनुसार जो मानिस पहिलेदेखि नै क्यान्सरबाट पीडित छन्, यदि त्यस्ता बिरामीमा कोरोना संक्रमण देखियो भने यो औषधि सेवनले झनै खतरा हुन सक्छ। त्यसैले त्यस्ता बिरामीलाई यो औषधि सेवन नगराउन उनीहरुले सुझाव दिएका छन्।

शोधकर्ताहरुका अनुसार यो औषधि सेवन गराइएका कोरोना संक्रमितको ज्यान जाने खतरा तीनगुना बढी सम्भावना रहेको अध्ययनले देखाएको छ। यसअघि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले यो औषधिलाई कोरोना संक्रमितको उपचारमा गेम चेन्जर हुन सक्ने बताएका छन्। राष्ट्रपति ट्रम्प आफैँले पनि कोरोना संक्रमणबाट बच्नका लागि आफूले यो औषधि सेवन गरेको उल्लेख गरेका थिए। 

शोधकर्ताहरुका अनुसार अहिले चिकित्सकहरुले पनि यो औषधि कोरोना संक्रमित बिरामीलाई दिन हिच्किचाइरहेका छन्। 

अमेरिकन सोसाइटी अफ क्लिनिकल अन्कोलोजीका प्रमुख डा होवार्ड बर्रिजका अनुसार हाइड्रोक्सिक्लोरोक्विन र एन्टिबायोटिक अजिथ्रोमाइसिन कोरोना संक्रमित बिरामीका लागि जोखिमपूर्ण हुन सक्छ। 

सुरुआतमा यो औषधिले कोरोना संक्रमितको उपचारमा मद्दत पुग्ने बताइएको थियो। वान्डरबिल्ट युनिभर्सिटी मेडिकल सेन्टरका डा जर्मी वार्नरका अनुसार जो कोरोना संक्रमित बिरामीको उपचारमा हाइड्रोक्सिक्लरोक्विन र एन्टीबायोटिकको प्रयोग भइरहेको छ ती बिरामीको मृत्यु हुने सम्भावना तीनगुणा बढी रहेको हुन्छ। – एजेन्सी